आर्ष खबर

चन्द्रागिरि व्यक्ति विशेष

‘चन्द्रागिरि नगरपालिका धुँवा धुलो मुक्त हुनुपर्छ’

  • ज्ञानेन्द्र महत

तपाई उद्योग, पर्यटन, वन तथा वातावरण समितिको सभापति हुनुहुन्छ, आफ्नै निर्वाचन क्षेत्रभित्र वातावरण प्रदुषण मुख्यतः इँट्टाभट्टाकाको विषयलाई लिएर के भन्नु हुन्छ, यसमा तपाईको भूमिका कस्तो रहन्छ ?

इँट्टाभट्टा सन्दर्भमा हामीले पहिले देखि नै कुरा उठाइरहेकै हौ । जतिबेला हामी चन्द्रागिरि नगरपालिकाको सर्वदलीय संयन्त्रमा रहि काम गर्दै थियौं । नगरपालिका वरपरका इँट्टाभट्टाहरुलाई हटाउने कुरामा धेरै चर्चा परिचर्चा गरेको र चर्चा परिचर्चाको साथसाथै सर्वदलीय बैठकमा हामीले हटाउने भनेर निर्णय पनि गर्यौ । निर्णय पश्चात मैले बुझेसम्म २–३ वर्षसम्मको समयावधी तोकिएरै कर पनि नलिकन यसलाई हटाउने प्रक्रियामा अगाडि बढाएकै हो । यसै क्रममा स्थानीय निर्वाचन भएपछि जनप्रतिनिधिहरु आउनु भयो । जनप्रतिनिधिहरु आएपछि हामी सर्वदलीय टिमले गरेको कामहरुलाई निर्णायार्थ कार्यान्वयनमा लैजाने स्थिति बनाएनन् । अहिले इँट्टाभट्टा हटाउ अभियान सुरु भएको छ । यो एकदमै राम्रो काम हो । अहिले हामी हिजोको गाविसको स्थितिमा छैनौं । अहिले नगरपालिका, भोलि उपमहानगरपालिका उन्मुखतर्फ लागिरहेको हुनाले यो इँट्टाभट्टाहरुलाई तत्काल हटाउनु पर्छ । यहाँको जनतालाई इँट्टाभट्टाको धुलो, धुँवा खुवाई रोगी बनाउने होइन, अब निरोगी बनाएर अघि बढ्न जरुरी छ । यसो गरे नगरपालिका स्वच्छ र स्वस्थ वातावरणमय नगरपालिका बन्दछ । स्वस्थ नगरपालिकाले नै समृद्धिको कार्य गर्न सक्छ ।

अहिले इँट्टाभट्टा हटाउ अभियान सुरु भएको छ । यो एकदमै राम्रो काम हो । अहिले हामी हिजोको गाविसको स्थितिमा छैनौं । अहिले नगरपालिका, भोलि उपमहानगरपालिका उन्मुखतर्फ लागिरहेको हुनाले यो इँट्टाभट्टाहरुलाई तत्काल हटाउनु पर्छ ।

इँटाभट्टा पिडित संघर्ष समितिले नगरपालिकालाई ५ दिनको अल्टिमेटम दिएको छ । स्थानीय निर्वाचन हुनुभन्दा अघि तपाई सर्वदलीय संयन्त्रमा हुनुहुन्थ्यो । अहिले कार्यान्वयन गर्ने स्थानमा हुनुहुन्छ, आफैले गरेको निर्णयलाई पनि कार्यान्वयन गर्न सक्नुभएन किन ?

त्यतिखेर नगरपालिकाको कामहरुलाई अगाडि बढाउने हिसाबले पार्टीको तर्फबाट सहयोगीको भूमिका निर्वाह गर्ने सन्दर्भमा मात्र मेरो उपस्थिति थियो । त्यसो हुँदा मैले गरेका कामहरु निर्णायार्थ कार्यान्वयन हुनुपर्छ भनेर भन्न सक्ने स्थितिमा संयन्त्रमा हुनेहरु थिएनौं । अहिले स्थानीय तहमा जनताले चुनेको जनप्रतिनिधिहरु छन् । निर्वाचन पश्चात जनप्रतिनिधिहरुले यसलाई गम्भीर भएर हेर्नु पर्थ्यो र हेर्नुपर्छ । सर्वदलीय टिममा अहिलेको मेयर पनि सँगै हुनुहुन्थ्यो, म आफै पनि थिए । मेयर साबले यसलाई हिजो सर्वदलीय टिमले पनि निर्णायार्थ अगाडि बढाएको र त्यसपछि उहाँलाई जनताले पनि यो नगरपालिका स्वच्छ, हराभरा, सफा र विकास निर्माणको काममा अगाडि बढ भनेर जिम्मेवारी दिइसकेको अवस्था छ । उहाँले हिजोको निर्णयलाई पनि सम्झनामा राखेर नगरपालिकाको कार्यपालिकाबाटै निर्णय गरेर अगाडि बढेको भए यो एकदम राम्रो हुने थियो । यद्यपी उहाँले त्यसलाई गर्न सक्नु भएन । यो सन्दर्भमा कुरा गरिरहँदा उहाँको पाटीसँग सम्बन्धीत छ भन्ने मलाई लाग्छ । त्यही कारणले उहाँले यसलाई निर्णायार्थ अगाडि बढाउनु सक्नुभएको छैन ।

मसँग सम्बन्धित कुरा गर्दा म आफै पनि प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिको जिम्मेवारी बहन गरिरहेको छु । जतिबेला म निर्वाचित भए निर्वाचित भएको केही समय पश्चात नै मलाई लाग्छ, तीनथाना, विष्णुदेवी र थानकोट साइडको साथीहरुले इँट्टाभट्टाले पारेको प्रभाव र यो इँट्टाभट्टालाई हटाउने अभियानसँग सम्बन्धित रहेर ज्ञापन–पत्र नै दिनुभएको थियो । त्यो ज्ञापन–पत्रसँग सम्बन्धित हुँदा यहाँहरुलाई प्रष्टै छ कि प्रदेश सरकारले आफ्नो गतिविधि सिधै स्थानीय स्तरमा संचालन गर्न पाउँदैन । त्यसो हुँदा हाम्रो गतिविधि, हाम्रो कामहरुलाई अगाडि बढाउने हो भने स्थानीय सरकारसँग सहकार्य गरेर नै हो । मैले मेयर, उपमेयरसँग बसेरै धेरै पटक छलफल गरे । छलफल गर्दा पनि यो कार्यान्वयन हुन सकिरहेको थिएन । मैले थाहापाएअनुसार केही दिन अगाडि इँट्टाभट्टा पिडित संघर्ष समितिको नेतृत्वमा ठूलो जुलुससहित इँट्टाभट्टा हटाउन मेयरलाई ज्ञापन–पत्र बुझाउने काम भयो । यो एकदमै सह्रानीय काम भएको हो । हामीले हाम्रो नगरपालिकालाई स्वच्छ, हराभरा र इँट्टाभट्टा मुक्त नगरपालिका बनाउनु पर्छ । त्यसो हुँदा यो अभियानलाई काँधमा काँध मिलाउने सन्दर्भमा मेरो पनि साथ र सहयोग रहने छ ।

मैले थाहापाएअनुसार केही दिन अगाडि इँट्टाभट्टा पिडित संघर्ष समितिको नेतृत्वमा ठूलो जुलुससहित इँट्टाभट्टा हटाउन मेयरलाई ज्ञापन–पत्र बुझाउने काम भयो । यो एकदमै सह्रानीय काम भएको हो । हामीले हाम्रो नगरपालिकालाई स्वच्छ, हराभरा र इँट्टाभट्टा मुक्त नगरपालिका बनाउनु पर्छ ।

तपाईको निर्वाचन क्षेत्रमा १८ वटा सामुदायिक वन छन् । ति सामुदायिक वनलाई जोडेर पर्यापर्यटनको योजना के बनाउनु भएको छ ?

सबै भन्दा पहिलो हामीसँग पर्यापर्यटनसँग सम्बन्धित थुप्रै ठाउँहरु छन् । मातातीर्थ, इन्द्रदह, मच्छेगाउँ, थानकोट आदिनारायण आदि पर्यापर्यटनका स्थलको रुपमा रहेका छन् । सामुदायिक वनसँग सम्बन्धितको कुरा गर्ने हो भने हामीसँग थुप्रै अवसरहरु छन् । त्यो अवसरहरुलाई एकीकृत रुपमा अगाडि लान जरुरी छ । २०२० लाई पर्यटन वर्षको रुपमा सरकारले अगाडि बढाइरहेको छ । यसलाई टेवा दिनका लागि प्रदेश सरकारले सहयोगी भूमिका खेलिरहेको छ । यदि अवसरहरुलाई एकीकृतरुपमा अगाडि बढाउन नसक्ने हो भने घोषणाको लागि घोषणा मात्र हुन्छ भन्ने मलाई लाग्छ । हामीले विशेषत सामुदायिक वनसँग मात्रै कुरा गर्ने हो भनेपनि म निर्वाचित भएको क्षेत्रमा १८ वटा सामुदायिक वनहरु छन् । सामुदायिक वनहरुलाई हिजोको सन्दर्भसँग जोडिएर हेर्ने हो भने संरक्षण गर्ने, रुख ठूलो बनाउने, त्यहाँबाट घाँस, पत्कर, दाउरामात्रै लिने थियो । हिजो नाङ्गो डाँडा थियो त्यसलाई संरक्षण गर्न जरुरी थियो । त्यसो हुँदा हामीले जनतालाई पनि त्यही अनुसारको गाइड गर्यौ । त्यही अनुसार उहाँहरुले पनि सामुदायिक वनहरुलाई संरक्षण गर्ने तर्फमात्र अग्रसर हुनुभयो । अब त्यो अवस्थाबाट हामी अगाडि बढिसकेका छौं । हिजो फल प्राप्त गर्ने, लिने हिसाबले वन रोपण गरौं, संरक्षण गरौं, अब फल लिने बेला भयो । अब हामीले सामुदायिक वनलाई जोडेर पर्यापर्यटनको हिसाबले काम अगाडि बढाउनु पर्छ । यो कामलाई अगाडि बढाउने सन्दर्भमा प्रदेश सरकारको यो दोस्रो प्लानिङमा मेरो निर्वाचन क्षेत्रको वडा नम्बर ९ मच्छेगाउँको डाँडामा रहेको बुद्धस्तुपा देखि ग्रीन पदमार्ग सुरु गरी वडा नम्बर २ मसिनेसम्म पुर्याइने लक्ष्य लिइएको छु । अब चन्द्रागिरि नगरपालिकामा रहेका जनता पदमार्गको हिसाबले पैसा तिरेर समय खर्च गरेर अन्य क्षेत्रमा जान नपरोस्, नगरबासी र अन्य व्यक्तिलाई पनि हाम्रो ठाउँमा आकर्षण गर्न सक्नुपर्छ । यही विषयलाई लिएर चन्द्रागिरि नगरपालिकाका उपमेयरसँग पनि छलफल भएको थियो । उहाँले पनि यो राम्रो काम भएकोले नगरपालिकाले यसलाई थप सहयोग गर्ने बचन दिनुभएको छ । अब उहाँसँग पुनः एकपटक बसेर छलफल गर्ने सोच मैले बनाएको छु ।

तपाई प्रदेश सांसद हुनभएपछि गर्नुभएका महत्वपूर्ण कामहरु के–के छन्, ती मध्ये आफुलाई सबैभन्दा सन्तुष्ट लागेको काम कुन हो ?

पहिलो वर्ष क्षेत्र विकास कोष थिएन, यस वर्ष छुट्टाएको छ, त्यो कार्यान्वयनको प्रक्रियामा छ । निर्वाचनको दौडानमा घोषणापत्रमा उल्लेख भएको कुरा हो एक घर, एक धारा, यातायातको राम्रो व्यवस्थापन, यूवा स्वरोजगार कार्यक्रम । निर्वाचनको क्रममा धेरै ठाउँमा जाँदा पश्चिम भेगमा बस्ने जनताहरुले पैसा तिरेर पनि सर्वसुलभ ढंगले यात्रा गर्न पाएनन्, यातायातको राम्रो व्यवस्थापन गरिदिनु पर्यो भनेर उहाँहरुले आग्रह गर्नुभएको थियो । आफू निर्वाचित हुनासाथ नेपाल यातायातमा गई जिएमसँग भेटे । त्यसपछि मयुर यातायातको जिएसँग पनि भेटे । नेपाल यातायातले केही समय लाग्ने बतायो भने मयुर यातायातका जिएम धेरै उत्साहित हुनुभयो । मयुर यातायातले हामी तुरुन्तै संचालन गछौं भन्यो । यसअघि थुप्रै यातायात संचालनमा भएपनि जुन हिसाबले जनताले सर्वसुलभ ढंगबाट यात्रा गर्न सकिरहेका थिएनन्, मयुर यातायात, चन्द्रागिरि यातायात र साझा यातायात संचालनमा आएपछि त्यो समस्या हटेको छ । चन्द्रागिरि नगरपालिकाको विशेष गरी पश्चिम भेगमा बस्ने जनताले यात्राको सन्दर्भमा अहिले सर्वसुलभ तरिकाले यात्रा गर्न पाएका छन् जस्तो लाग्छ । यो कुरामा म एकदम सन्तुष्टि छु ।

कामकारवाहीको सन्दर्भमा कार्यविधि तयारी भैसक्यो भन्ने छ । तर, यद्यपी मेरो हातमा कार्यविधि परेको छैन । योजना कुन तहको कस्तो खालको बनाउने भन्ने कुरा कार्यविधिले गाइड गर्छ । मैले अहिले ठ्याक्कै भन्न सक्ने अवस्था रहेन । बाटो, कुलो, स्कुल, खानेपानी बनाउने र मर्मत गर्ने भनेको निरन्तर गरिरहने प्रक्रिया हो । यो प्रक्रिया अन्तरगत गरिरहँदा सरकारको चार वटा अंग मध्ये चौथो अंगको रुपमा चिरपरिचित पत्रकारहरुलाई कहि कसैले पनि प्लानिङमा राखेको देखिदैन । चन्द्रागिरि नगरपालिकाको एउटा वडामा ४ करोड रुपैयाँ जान्छ । त्यो वडाले पनि मिडियासँग सन्दर्भित रहेको योजना बनाएको म देख्दिन । नगरपालिका समग्रले पनि बनाएको पाईदैन । प्रदेश सरकारको जिम्मेवारीको हिसाबले म त्यहाँ कार्यरत छु । म प्रदेश सरकारको नीति योजनाहरुलाई हेर्छु, त्यसमा पनि नीतिगत हिसाबले योजनाबद्ध ढंगले अगाडि बढाइरहेको देख्दिन । त्यसो हुँदा खेरी कार्यविधिले कस्तो खालको गाइड गर्छ मलाई थाहा छैन । हामीले दुई वर्षको अन्तरालमा धेरै काम गर्यौ, सबै काम ओझेलमै छ । जबसम्म संचारमाध्यमका साथीहरुलाई साथमा लिन सकिदैन त्यो फेरी पनि ओझेलमै रहिरहन्छ । त्यसो हुँदा गरेका काम र गतिविधिहरुलाई अगाडि ल्याउनको लागि मिडिया सेक्टरमा मेरो काम गर्ने एकदमै इच्छा छ । तर, कार्यविधिले गाइड गरेअनुसार त्यसलाई म अगाडि बढाउछु ।

२०२० लाई पर्यटन वर्षको रुपमा सरकारले अगाडि बढाइरहेको छ । यसलाई टेवा दिनका लागि प्रदेश सरकारले सहयोगी भूमिका खेलिरहेको छ । यदि अवसरहरुलाई एकीकृतरुपमा अगाडि बढाउन नसक्ने हो भने घोषणाको लागि घोषणा मात्र हुन्छ ।

अन्त्यमा तपाई केही भन्न चाहनु हुन्छ ?

मेरो गतिविधि, मैले गरिरहेको कामहरुको सन्र्दभमा आर्ष नेपालले अगाडि बढाउने जुन सोचाइ राख्नु भएको छ यो नै एकदमै राम्रो कुरा हो । अब एउटा काम तुरुन्त अगाडि बढाउनु पर्छ जस्तो मलाई लाग्छ । एक वर्ष हामीले काम गरिसक्यौ । कुन काम गर्दा कति सजिलो भयो ? के कारणले गर्दा सजिलो भयो ? सजिलो सँगसँगै अप्ठ्यारोहरु पनि छन्, त्यो अप्ठ्यारो के के आए ? त्यो अप्ठ्यारोलाई तपाईले कसरी फेस गर्नुभयो र, आउँदो दिनमा तपाईको प्लान कस्तो छ ? त्यो कुराहरुलाई अगाडि लान सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ । त्यसरी जान सकियो भने पाटी र हामी कुन बाटोमा अगाडि बढिरहेका छौं भन्ने कुरामा मानिसहरु छर्लङ्ग हुन्छन् । यो कुरा छुटाउन हुँदैन । विषयगत रुपमा अघि बढ्दै जानुपर्छ । म कहाँ दौडिरहेको छु । हामी सबै दौडेको दौडेइ छौ, जननिर्वाचित पदाधिकारीहरु आ–आफ्नो स्थानमा दौडेको दौडेइ छन् । कार्यपालिकाका सदस्यहरु पनि दौडेकै छन् । दौडेको किन ? त्यो दौडाइलाई एकै ठाउँमा हामीले व्यवस्थपन गर्न सक्यौं भने दौडाइ कम उपलब्धि धेरै हुन्छ । त्यो हुन सकिरहेको छैन, त्यसैमा हो मलाई चिन्ता । चाडबाड भनिदैन, परिवार नभनी दौडेको दौडेई छौं । दौडिएको उपलब्धि जनतामाझ देखाउन सक्नुपर्छ ।

Related posts

चन्द्रागिरि–७ ले बालश्रम दिवसका दिन बालबालिकालाई खाद्यान्न वितरण गर्दै

Aarsha Khabar

चन्द्रागिरिको गोकुलपाटीमा च्याउ चोर्दाचोर्दै महिला पक्राउ

Aarsha Khabar

चन्द्रागिरिमा सामुदायिक विद्यालय र निजी विद्यालयबीच सांगीतिक भिडन्त

Aarsha Khabar