आर्ष खबर

खेलकुद

एनआरटीले ब्रिगेड ब्वाईजलाई हरायो, एनआरटी लीगको चौंथो स्थानमा

काठमाडौं । राजेश परियारको दुई गोलको मद्दतमा न्यूरोड टिम एनआरटी राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लीगको चौंथो स्थानमा उक्लिएको छ ।

दशरथ रंगशाला त्रिपुरेश्वरमा भएको दोस्रो खेलमा एनआरटीले ब्रिगेड ब्वाईज क्लब बीबीसीलाई २–० ले हराउँदै लीगमा पाँचौं जीत हात पारेको हो । एनआरटीको जीतमा दुबै गोल वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका राजेशले गरे । खेलको २२औं मिनेटमा क्रिशन कुमारको स्थानमा मैदान प्रवेश गरेका राजेशले त्यसको १० मिनेटमै एनआरटीलाई अग्रता दिलाए । दर्शन गुरुङको क्रसमा राजेशले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । पहिलो हाफमा एक गोलको अग्रता लिएको एनआरटीले दोस्रो हाफमा सुरुवातमै दोस्रो गोल गर्यो । ५२औं मिनेटमा श्याम बाबुको पासलाई सदुपयोग गर्दै राजेशले पेनाल्टी एरिया भित्रबाट प्रहार गरेको बल गोल भएको थियो । ७९ औं मिनेटमा बीबीसीले राम्रो मौका पाएको थियो तर एनआरटीका गोलकिपरले उत्कृष्ट बचाउ गर्दा बबीसी खेलमा फर्कन सकेन । जीतसँगै एनआरटी ९ खेलबाट गत संस्करणको २ अंक कटाएर १५ अंकसहित चौथो स्थानमा उक्लिएको छ । बीबीसी भने ८ अंकसहित ११औं स्थानमा छ ।

पहिलो खेलमा फ्रेण्ड्स क्लबले च्यासल युथ क्लबलाई शून्यकाविरुद्ध एक गोलले हरायो । फ्रेन्ड्सलाई जिताउन उत्तम राईले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८४औं मिनेटमा उत्तमले गोल गरे । फ्रेन्ड्सका विश्व अधिकारीको फ्रिकिक च्यासलका गोलकिपर एलेन न्यौपानेले बचाएपछि रिबाउन्ड बलमा उत्तमले गोल गरेका हुन् । बलमा पकड जमाएपनि च्यासलले फ्रेन्ड्सविरुद्ध गोल गर्न सकेन । जीतसँगै फ्रेन्ड्स लीगको नवौं स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले ९ खेलमा ११ अंक जोडेको छ । च्यासल ९ खेलबाट ९ अंक सहित लीगको दशौँ स्थानमा झरेको छ ।

Related posts

नेपालले मलेसियालाई ७ विकेटले हरायो (तस्विरसहित)

Aarsha Khabar

राखेपको सदस्य सचिव पदमा रस्साकस्सी

Aarsha Khabar

नेपाल भारतसँग पराजित

Aarsha Khabar