काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष पुष्कर खड्का पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले मानव बेचबिखनको आरोपमा खड्कासहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका नवल ठाकुर भारत मोतिहारीका हुन् भने व्रिजगोपाल श्रेष्ठ काठमाडौं महानगरपालिका १६ का स्थायीबासिन्दा हुन् ।
वडाध्यक्ष पक्राउबारे नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले भने मौन छन् । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले खड्का घुम्न निस्केको जानकारी आफूले पाएकोले पक्राउबारे थाहा नभएको बताउनु हुन्छ ।
एक महिलाले सानेपाको एक खाजाघरमा देहव्यापार हुने गरेको भन्दै उजुरी दिएपछि प्रहरीले छापा मार्दा उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो । उनीहरु माथि मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार ९ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।