आर्ष खबर

आर्ष खबर समाचार

मुसा प्रजा र मुसाउरो

  • रवीन्द्र रिजाल

खानीलाई सँस्कृत भाषामा आकर भनिन्छ । जसको अर्थ ढुकुटी, भण्डार, खजाना भन्ने हुन्छ । आकरमा वा खानीमा बसी काम गर्नेलाई आकरे वा आकरिक भनिएको पाइन्छ । नेपालको विभिन्न ठाउँहरुमा खनिज उत्पादन गर्ने खानीहरु थिए । तामा, फलाम, सिसा, गन्धक, किट, अभ्रख, मनशिला, हरिताल, सोहाग, चुनढुङ्गा आदि मध्यकालमा विभिन्न खानीहरुबाट झिक्ने कार्य गरिन्थ्यो । खनिज पदार्थ निकाल्नलाई लामा–लामा सुरुङ खन्नु पर्ने हुन्थ्यो । सुरुङको प्वालभित्र मुसा जस्तो परेर जाने र खनिज पदार्थ निकालेर लेराउनेमा मजदुरहरु सक्रिय हुन्थे । ती मजदुरहरुलाई प्वालभित्र छिरि मुसो जस्तो काम गरेको हुनाले मुसा प्रजा भनेर बोलाइन्थ्यो । मुसा प्रजा विशेषण मजदुरहरुले प्राप्त गरेका थिए ।

मध्यकालमा खानीहरु इजारा वा ठेक्कामा चलाउन दिइन्थ्यो । स्वीकृत प्राप्त ठेगेदारहरुको मुसा प्रजा माथि ठूलै हैकम चल्दथ्यो । ठेगेदारी हैकम प्रबृति आजसम्म पनि निरन्तरतामा रहेको पाइन्छ । हाल विश्व कोभिड–१९ को महामारीमा छ । नेपाल पनि यसमा आक्रान्त नै छ । देश भित्र र बाहिर मजदुरी गर्दै गरेका नेपाली मजदुरहरु माथि ठूलो संकट पैदा गरेको छ । बाटो बनाउन, पर्खाल लगाउन, ईटा पार्न, कलकारखाना सजाउन आएका मजदुरहरु आफ्ना लालाबाला र पोकापुन्तुरा बोकेर पैदलै घर पुग्न हिडिरहेको दृश्यले धेरैको मन रुवाएको छ । ठेगेदार मजदुरलाई किन मुसो जत्तिको नि ठान्दैन ? किन राज्यले मुसाउरो (बस्ने खोर) उपलब्ध गराउन सक्दैन ? गरीब वर्ग, मजदुरलाई मुसा प्रजा बनाइएकाले नै घामपानी नभनी कष्टकर यात्रा गर्नु परेको छ ।

मध्यकालमा पूर्व र पश्चिम बाइसी चौबिसी राज्यमा आकरे (खानीको कामदार) लाई मुसा प्रजा भनिए तापनि कामको उचित सम्मानले कदर गरिन्थ्यो । नेपाल संवत् ७९३, ने.स. ८३९, ने.स. ८५० तिरका विभिन्न पत्रहरुमा खानीमा काम गर्ने मुसा प्रजाको बारेमा लेखिएको पाइन्छ । पश्चिम नेपालमा आकरे अपभ्रंश भएर आग्री बन्न पुगेको छ । विभिन्न जातजातीले आकरेको काम गरेको पाइन्छ । हाल नेपालमा खानीहरु सञ्चालनमा छैनन् । अन्य क्षेत्रमा काम गर्ने मजदुरको संख्या भने पर्याप्त छ । नेपाली शासकहरुले कहिले मुसा प्रजा त कहिले प्रजा, कहिले दास–दासी त कहिले कमारा–कमारीको रुपमा आम नागरिकलाई लिने कुचेष्टा गरेको पाइन्छ । सधै नागरिक भिजेको मुसा नै भैरहला त ? नागरिक त बनाउन सकेनौ मुसालाई धानको भात त दिन सक्छौ कि ?

गाँस, बास, कपास कै लागि मानिसले आफ्नो श्रम बेच्दछ । उचित ज्याला र सम्मानले पारखी मनहरुलाई रिझाउन सके बगरमा पनि बृक्ष उम्रिन्छ । संसारका निर्माता किसान, मजदुर नै हुन । यिनका मिहेनतमा नै संसार भरिपूर्ण भई रमाउँदछ । यसरी आफ्नो श्रमले अरुलाई मोज मज्जा दिलाउने बर्गलाई अहिले पनि मुसा प्रजा नठानियोस् । बेमौसमी अध्यादेश रुपी बाजा बजाउँदै नागरिकलाई मुसा र देशलाई मुसाउरो नबनाइयोस् ।

Related posts

मकवानपुरमा पनि कोरोना संक्रमित भेटियो, संक्रमणको त्रास बढ्दै

Aarsha Khabar

राष्ट्र विकासको मूल मुटु नै शिक्षा : प्रचण्ड

Aarsha Khabar

म्यानमारबाट २६ जना नेपाली फर्किए, एक हप्तामा ४० हजार फर्कदै

Aarsha Khabar