आर्ष खबर

आर्ष खबर समाचार

नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा

  • रवीन्द्र रिजाल

काठमाडाैं । वि.सं.२००६ साल बैशाख १० गते (२२ अप्रिल १९४९) का दिन नेपाल कम्युनिष्ट पार्टीको विधिवत स्थापना भएको दिन हो । तत्कालिन समयमा देशमा राणाशाहीहरुको हुकुमी शासन चलिरहेको थियो । राणाहरुको बर्बर दमन र अत्याचारका कारण नेपाली मजदुर, किसान, विद्यार्थी र तरुण आक्रान्त भैसकेका थिए । ती आक्रान्त मनहरुलाई संगठित गरी नागरिक स्वतन्त्रताको अभियानमा लगाउने कार्यको थालनी गर्न नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा जनसमक्ष छरियो ।

“नागरिक स्वतन्त्रता सम्पूर्ण बर्गलाई आवश्यकता, अतःक्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ !” भन्ने शीर्षकमा कमरेड पुष्पलाल श्रेष्ठको पहल कदमीमा पहिलो दस्तावेज तयार गर्ने कार्य भयो । यो दस्तावेज नै नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा बन्न पुग्यो । लेनिनको जन्म दिन बैशाख १० गतेको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । पुष्पलालको नेतृत्वमा ५ सदस्यीय केन्द्रीय संगठन समिति बन्यो । पुष्पलाल संस्थापक महामन्त्री, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी (दुर्गा) श्रेष्ठ सदस्यको रुपमा चयन भए ।

“पूर्ण नागरिक स्वतन्त्रताको लडाइ जिन्दावाद ! लेख्न, बोल्न, पढ्न, सभा संगठन गर्न अधिकार जिन्दावाद ! नागरिक स्वतन्त्रताका लागि क्रान्तिकारी समितिहरु जिन्दावाद !” आदि नारा र गर्जनाका साथ नेकपा अगाडि बढ्यो । मजदुरको तलब र ज्याला, किसानको भाउ अँधिया बाली आदिको गर्जना पनि साथसाथै गुञ्जीरहयो । हुँदा खाने र हुने खाने बीचको संघर्ष तीब्र बन्दै गयो । राणाशाहीको अन्त्य, निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य हुँदै गणतन्त्र नेपालको उदय समेत भयो । झापा विद्रोह, जनयुद्ध, विभिन्न समयको जनआन्दोलनका कारण आज नेपाल गणतन्त्रात्मक व्यवस्थामा पुग्न सफल भएको छ । हजारौं नेपाली छोराछोरीको बलिदानले यो दिन प्राप्त भएको हो ।

विभिन्न समयमा नेपाल कम्युनिष्ट पार्टीले गरेको सकारात्मक क्रियाकलापका कारण हाल नेपालमा दुई तिहाइको नेकपाको सरकार बन्न सफल भएको छ । नागरिक स्वतन्त्रता र सम्पूर्ण वर्गको हितमा लाग्दै नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चाको भावनालाई अंगिकार गरौं । गणतन्त्र, संघियता, समानुपातिक व्यवस्थालाई नेपाली मौलिकताले आत्मसाथ गर्दै समाजवाद स्थापनामा निरन्तर लागि पर्न सके नेकपा स्थापना दिवस मनाएको सार्थकता ठहरिएला । पूर्ण नागरिक स्वतन्त्रता जिन्दावाद !

 

Related posts

नेपाललाई चीनको सहयोग

Aarsha Khabar

कर्मचारी सरुवामा भनसुनको विकृत सच्याउन आवश्यक

Aarsha Khabar

संविधान संशोधनको मुद्दा आफुले सुरुबाटै उठाएको : डा. भट्टराई

Aarsha Khabar