आर्ष खबर

अन्तर्वार्ता चन्द्रागिरि

राजनीति भन्दा माथि मानवीयता

– रवीन्द्र रिजाल

  • मानवीय उद्देश्य बोकी जुन कार्यको थालनी गर्नुभयो, यसमा कस्ता–कस्ता चुनौतीहरु देखापर्न आए ?

हामीले यस मानवीय कार्यलाई व्यवस्थित, राम्रो र संस्थागत बनाउन भनेजस्तो टिमवर्कमा ढाल्नु पर्ने रहेछ । यहाँ चुनौती र सम्भावना दुबैसँगसँगै थिए । चुनौती यो अर्थमा कि काम गर्ने दौरानमा टिम मिल्दैन की, अराजकता पो पैदा हुन्छ की ? बालबच्चा, महिला र जेष्ठ नागरिक विभिन्न ठाउँबाट यस आश्रय स्थलमा आउनु भएको थियो । सानो गल्ली भयो भने आगोको झिल्को झै विकराल रुप लिन पुग्थ्यो । त्यसैले हामी त्यसमा सर्तक थियौं । द्वन्द्ववादले सकारात्मक र नकारात्मक दुबै भन्छ । यहाँ वाह वाह मात्र होइन, कतिपय नकारात्मक कोणबाट पनि विषय बस्तु सुनिन नआएको होइन हामीले त्यसलाई ध्यान दिएनौ । सकृय साथीहरुलाई भड्काउने प्रयत्न समेत गरिएको थियो । वास्तविक मजदुर, श्रमिक लामो दुरीबाट डेरा, कोठा नभएर खानै नपाएर आउनु भएको हो त ? दोस्रो दिन जाँचबुझ गर्न हामीलाई हम्मेहम्मे भयो । पहिलो दिन वास्तबमा त्यस्तै साथीहरु आउनु भएको थियो । तर, पछिल्लो दिनमा धेरै नै मिसमास भयो । खबर संप्रेषण आधा गयो, कतिपय अवस्थामा टुक्रा गयो । खबर प्रशारण पश्चात कतिपय व्यक्तिहरु आफ्नो जिल्ला जान पाउँछौं भनेर पनि आए । कति जनालाई त एम्बुलेन्सले पनि यही लेराइ छोडि दियो । घर जाने त जसलाई पनि मन हुन्छ । लक डाउनमा सहजै घर जाने कुरा त असहज छ । खान दिन्छौं १०–१५ दिन मिठो, नमिठो, रुखोसुखो जे भएपनि, सरकारले आफ्नो ज्यान जोगाउ भनेको हो नि । यो कुरा कसरी ट्वीस्ट भयो । कहाँबाट भयो ? किन भयो ? खोजतलास हामीले गर्नुपर्छ । हाम्रो उद्देश्य भनेको एकदमै गरिबीमा परेका, लामो दुरीबाट आएका व्यक्तिहरुलाई यहाँ राख्ने होे । यो त अस्थायी थलो हो । निश्चित व्यवस्थापन पश्चात उहाँहरु जानुहुन्छ भनि यो मानवीय कार्यको थालनी गरेका थियौं । चुनौती भनेको लोभिपापी मन हो ।

  • चन्द्रागिरिमा थकान केन्द्र चलाउनु भयो, नगरपालिका र स्थानीय नागरिकले के–कस्तो सहयोग पुर्याए ? यस बारेमा बताइदिनु हुन्छ की ?

सुरुका दिनमा स्थानीयबासीलाई केही भ्रम पर्न गएको महशुस भयो । पार्कमा मानिसहरु जमघट हुँदा कतै कोरोना फैलिन्छ की भनेर । कोरोना भएको मान्छे सडकमा लरलर हिड्दा खेरी पनि फैलिन सक्छ । मानिसहरु चन्द्रागिरिको नाका कलंकीदेखि बाँडभञ्ज्याङ प्रयोग गरी पैदल हिंडेर घर फर्किरहेका थिए । सरकारले हाम्रो स्वास्थ्यकै लागि लक डाउन गरिरहेको छ । यसलाई पूर्ण कार्यान्वयन गराउन हामीले त्रिभुवन पार्क भित्र राखेका थियौं । अति विपन्न परिवारलाई सहयोग गरौं भन्ने हाम्रो चाहना थियो । कोरोना जिवित हो भनेर यतिबेला प्रशिक्षण दिइरहेको छ । कुनै न कुनै ठाउँमा त्यो टाँसिनु पर्छ । हावाबाट फैलिने रोग त होइन यो । यो प्रुफ गरिसकेका छन् वैज्ञानिकले । जनतामा जति भ्रम पैmलिएको छ, सचेत जनताले त त्यो मान्दै मान्दैनन् । यसले त राजनीति गरेछ क्यारे, विपक्ष छन् भने विपक्ष रहेछ भनिदिन्छन् जनताले । आफ्नै सहयोगी रहेछन् भने पनि यसलाई रिस उठेको रहेछ क्यारे भनिदिन्छन् । त्यसकारण यो विषय सजिलै चिरिएकै थियो । चन्द्रागिरि बासीहरुले दिनरात नभनी तरकारी ल्याइदिए, दही, दुध, फलफुल ल्याइदिए । स्वयंसेवक बनि सहयोग गरे । कतिले त आर्थिक सहयोग गरे । नगरपालिकामा नगर प्रमुख, उपप्रमुख र प्रवक्ता सहितको बैठक बसियो । उक्त बैठकको मौखिक निर्णयअनुसार हेल्थडेस्कसहित कर्मचारी नगरपालिकाले खटाएको थियो । नगरपालिकाका जनप्रतिनिधिहरु प्रत्येक दिन विश्राम स्थल आएका थिए । स्थानीय प्रहरी प्रशासन सक्रिय थियो । स्थानीय वासिन्दाले सहयोग गरेका थिए । यो सबै मिलेर गरेको कार्य हो ।

हाम्रो उद्देश्य भनेको एकदमै गरिबीमा परेका, लामो दुरीबाट आएका व्यक्तिहरुलाई यहाँ राख्ने होे । यो त अस्थायी थलो हो । निश्चित व्यवस्थापन पश्चात उहाँहरु जानुहुन्छ भनि यो मानवीय कार्यको थालनी गरेका थियौं ।

  • अचानक थकान केन्द्र अर्थात शिविर स्थगन किन भयो ?

इमान्दार पूर्वक सरकारका निकायहरुले लक डाउनलाई व्यवस्थित ढंगले कडाइ पूर्वक साँच्चिकै कार्यान्वयन गरेको हुन्थ्यो भने हामीले यो शिविर चलाउनु पर्दैनथ्यो । लक डाउनमा मानिसहरु कहाँबाट आए ? उडेर त आएका होइनन् हिंडेरै आएका थिए । घर जाने रहर स्वभाविकै हो, यस्तो समस्या हल भए शिविर बसाई हटाइनेछ । कोही हिड्न नै पाएनन् भने त शिविर स्वतः खाली हुन्छ । बाँकी रहेकालाई हामी गन्तव्यमा पठाई दिइहाल्छौ भनेर पहिलै सोचेका थियौं । विभिन्न निकायले आफ्नो भूमिका निभाओस्, प्रहरी प्रशासनले योजना लागुगरोस्, बौद्धिक वर्ग, ठेकेदार, फ्याक्ट्रीका मालिक, इँट्टाभट्टा संचालकहरुले आ–आफ्नो ठाउँमा इमान्दारीता देखाउन जरुरी थियो, हामीले पूर्णरुपमा पहल गर्यौं । यिनीहरु आफू बच्नलाई एउटा न एउटा राजनीतिक पार्टीको विल्ला भिरेकै हुन्छन् । श्रमिकहरुको पसिना चुस्ने अप्ठेरो परेको बेला जिम्मेवारी नलिने ? भनि ठाउँ ठाउँमा फोन गर्यौ, स्वयं सेवक पठायौं । यस्तो गतिविधिहरु रोक्न नेपाल सरकारको पनि ध्यानाकर्षण गर्यौं ।

गृहमन्त्रालय देखि लिएर कोरोना पीडित संयोजन समिति जसको प्रमुख रक्षामन्त्री इश्वर पोखरेल हुनुहुन्छ, उहाँहरुलाई पनि वास्तविक सूचना लगातार दिइरह्यौं । सबैतिरको सरसल्लाह र परामर्श पश्चात कार्यक्रम स्थगन गर्यौं । लक डाउन लम्बिने र उत्पीडित वर्गले खान नपाउने हो भने पुनः शिविर सञ्चालन हुन्छ ।

मानवताको लागि पार्टी हो, पार्टीका लागि मानवता होइन । पार्टीका लागि राजनीति पनि होइन । राजनीति भनेको जनताको लागि हो । जनताले नै बनाएको हो राजनीति ।

  • थकान केन्द्र (विश्राम स्थल) संचालनबाट प्राप्त ज्ञान के हो ? आफुलाई लागेको बताइदिनुस् न ?

किसान र मजदुरलाई बेवास्ता गर्नेहरुलाई विना पूर्वाग्रह छानविन गरिनु पर्छ । उनीहरुले किसान मजदुरका कारण नै कमाएका छन् । पहिलो कुरो यस्तालाई सरकारले चिन्नु पर्यो । कहाँ कहाँ उनीहरुले आफ्नो जिम्मेवारी पूरा गरेका छैनन्, कारवाही गर्नुपर्छ । दोस्रो कुरा स्थानीय निकायले काम गरेको छ कि छैन त्यहाँ ध्यान दिनुपर्छ । संकटको बेलामा भोटको काम गर्ने होइन, यो जस्तो छुद्रता केही हुँदैन । यो छुद्रताबाट हामी बच्नुपर्छ । यदि कसैले भोटको कुरा सोचिरहनु भएको छ भने तपाईका छोराछोरी अमेरिका, युरोप, कतार लगायत देशमा जानु भएको होला । तपाईले एक पटक आँखा बन्द गरेर सम्झिनुस् । ती देशमा बसेका गन्यमान्य व्यक्तिहरु र शासकले त्यसरी नै सोचिदिए भने हाम्रा लाखौं छोराछोरीहरु वा श्रमिकहरुको के हालत होला ? फर्किन सक्छन् उनीहरु ? म चुनौति दिन्छु, भोटको तरिका वा भोट बैंकको रुपमा काम गर्न खोज्नेलाई । मानवताको लागि पार्टी हो, पार्टीका लागि मानवता होइन । पार्टीका लागि राजनीति पनि होइन । राजनीति भनेको जनताको लागि हो । जनताले नै बनाएको हो राजनीति । इतिहास खोतल्दै गइयोे भने राजनीतिले मान्छे बनाएको होइन, मान्छेले राजनीति बनाएको भेटिन्छ । त्यसकारणले मावनता बिर्सियौ भने केही पनि गर्न सक्दैनौं । कसैले मानवता बिर्सिने चेष्टा गर्छ भने उसले कुनै पनि काम गर्दैन । तसर्थ सिर्जनात्मक ढंगले सोचौं । संकटको बेला एकताबद्ध हुनु मानव धर्म हो ।

  • अन्त्यमा, छुटेका केही छन् कि ?

मानवहितको कार्यमा लाग्दा जो जसले सरसहयोग गर्नुभयो उहाँहरुलाई मैले हृदयदेखि नै सम्झिरहेको छु । नेपालको हरेक कुनामा कुनै पनि गरिबले लक डाउन अवधिमा खान पाइएन भनेको सुन्न नपाइयोस, सरोकारवालाको ध्यान पुगोस् । म यस महान कार्यबाट पूर्ण सन्तुष्ट छु । यथार्थ र सत्य खबरका लागि आर्ष नेपाललाई धन्यवाद दिन चाहन्छु ।

Related posts

एपीएफ चन्द्रागिरि गोल्डकप च्याम्पियन

Aarsha Khabar

नागार्जुन र चन्द्रागिरि नगरपालिकामा सामुदायिक विद्यालयका विद्यार्थीका अभिभावकलाई राहत वितरण

Aarsha Khabar

चन्द्रागिरिको गिरी अशुद्ध

Aarsha Khabar