आर्ष खबर

आर्ष खबर समाचार

सही विचार कहाँबाट आउँछ ?

  • रवीन्द्र रिजाल

नेपाली जनताको अथक मेहनत र पसिनाले संविधान सभाबाट प्रगतिशील संविधान तयार भएको छ । संविधानमा उल्लेखित मर्म र भावना अनुरुपको कार्य क्रियाशील राजनीतिक पार्टीहरुले गर्नुपर्दछ । नेपाली जनताले श्रमजीवि बर्गको पक्षपोषण गर्दै राष्ट्रियताको खातिर नेपाल कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाई मतले विजय गराए । जनताको मर्म भावना कतै भुल्छ की ? राष्ट्रलाई एकताबद्ध बनाउन चुक्छ की ? यस्तो घटना घटे प्रगती गर्नबाट देश धेरै वर्ष पर धकेलिन्छ । सही विचार कहाँबाट आउँछ ? त्यसको लागि जनताको पार्टीले समय अनुकुल ज्ञान हासिल गर्न सक्नुपर्दछ । सही विचारले मात्र माक्र्सवादको रक्षा, प्रयोग र विकास गर्न सक्छ ।

आज भन्दा ५७ वर्ष अघि अर्थात मे १९६३ मा कामरेड माओत्सेतुङले “हाम्रो वर्तमान ग्रामीण कार्यका केही समस्याहरु” विषयमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकको लागि आफैंले तयार गर्नुभएको महत्वपूर्ण दस्तावेजको अंशलाई यहाँ प्रस्तुत गरिएको छ । “मानिसका सही विचार कहाँबाट आउँछन् ? के ती आकाशबाट खस्छन् ? अहँ । के ती मगजमा सहजै उब्जन्छन् ? अहँ । ती त सामाजिक व्यवहारबाट मात्र आउँछन्, ती तीन किसिमका सामाजिक व्यवहारबाट वा भनूँ उत्पादनको निम्ति संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगबाट आउँछन् ।

मानिसको सामाजिक अस्तित्वले नै उसको विचारको निर्धारण गर्छ । एकचोटि प्रगतिशील वर्गको प्रतिनिधित्व गर्ने सही विचारहरुलाई जनसमूहले बुझिसकेपछि ती विचारहरु भौतिक शक्तिमा फेरिन जान्छन्, जसले समाजलाई फेर्छ र संसारैलाई फेर्छ ।

मानिसहरु आफ्नो सामाजिक व्यवहार विभिन्न किसिमका संघर्षमा लाग्छन् र सफलता र असफलता दुबैबाट थुप्रै अनुभव बटुल्दछन् । बस्तुगत बाहिरी संसारका अनगिन्ती दृश्य मानिसको मगजमा उसका पाँच ज्ञानेन्द्रीयहरुबाट देख्ने, सुन्ने, सुघ्ने, चाख्ने र छुने इन्द्रियहरुबाट प्रतिबिम्बित हुन्छन् । पहिले त्रान इन्द्रिय ग्राह्य ज्ञान हुन्छ, इन्द्रिय ग्राह्य ज्ञान प्रशस्त जम्मा भएपछि त्यसले फट्को मार्छ अनि धारणात्मक ज्ञान अर्थात विचार बन्दछ । ज्ञान प्राप्तिको यो एउटा क्रम हो । ज्ञान प्राप्तिको सम्पूर्ण क्रमको यो पहिलो चरण हो । कसैका चेतना वा विचारहरु (सिद्धान्तहरु, नीतिहरु, योजनाहरु वा उपायहरु समेत) सही रुपले बस्तुगत बाह्य संसारका नियमहरुलाई प्रतिबिम्बित गर्छन् कि गर्दैनन् भन्ने कुरा यस चरणमा अझै प्रमाणित भइसकेको हुँदैन । यस चरणमा ती कुरा सही छन् की छैनन् भनी ठोकुवा गर्नु अझै सम्भव हुँदैन । त्यसपछि ज्ञान प्राप्तिको क्रममा दोस्रो चरण आउँछ, यो चेतनाबाट पदार्थमा फर्काउने चरण हो, विचारबाट अस्तित्वमा लैजाने चरण हो, जसमा पहिलो चरणमा बटुलेको ज्ञानलाई सिद्धान्तहरु, नीतिहरु, योजनाहरु वा उपायहरुले आशा गरिए अनुसारका सफलता पाउँछन् की पाउँदैनन् भन्ने ठोकुवा गर्न सामाजिक कार्यमा प्रयोग गरिन्छ । सामान्य रुपमा सफल भएका चाँहि सही हुन्छन् र विफल भएका सही हुँदैनन् र विशेषगरी प्रकृतिसित हुने मानिसको संघर्षमा यो कुरा साँचो हो । सामाजिक संघर्षमा प्रगतिशील बर्गलाई प्रतिनिधित्व गर्ने शक्तिहरु कहिलेकाही उनीहरुका विचारहरु सही नभएकाले होइन की संघर्षमा लागेका शक्तिहरुको सन्तुलनमा केही समयका निम्ति प्रतिक्रियाका शक्तिहरुसरह उनीहरु शक्तिशाली नभएकाले हार खान्छन्, त्यसैले उनीहरु अस्थायी रुपले पराजित हुन्छन् तर चाँडो वा ढिलो उनीहरुले विजय पाउनु अवश्यम्भावी छ । मानिसको ज्ञानले व्यवहारको कसीद्वारा अर्को फट्को मार्छ । यो फट्को अघिल्लोभन्दा बढी महत्वपूर्ण हुन्छ । किनभने यही एकमात्र फट्को हो, जसले ज्ञान प्राप्तिमा पहिलो फट्कोको सत्यता वा गल्तीलाई सिद्ध गर्न सक्छ अर्थात बस्तुगत बाह्य संसारलाई प्रतिबिम्बित गर्ने क्रममा बनेका विचारहरु, सिद्धान्तहरु, नीतिहरु, योजनाहरु वा उपायहरुको सत्यता वा गल्तीलाई सिद्ध गर्न सक्छ । सत्यलाई जाँच्ने अर्को कुनै बाटै छैन । अझ बढी विश्वलाई बुझ्नुका पछाडि सर्वहारावर्गको एक मात्र उद्देश्य यसलाई फेर्नु हो ।

प्रायः पदार्थबाट चेतनामा लग्ने र फेरी पदार्थमा फर्काउने अर्थात् व्यवहारबाट ज्ञानमा लग्ने र फेरी व्यवहारमा फर्काउने बारम्बारका अनेकौं क्रमपछि मात्र सही ज्ञान प्राप्त गर्न सकिन्छ । ज्ञानसम्बन्धी माक्र्सवादी सिद्धान्त, ज्ञानको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त यस्तो छ ।

हाम्रा कामरेडहरुमा ज्ञानको यस सिद्धान्तलाई अझै नबुझ्नेहरु निकैजना छन् । उनीहरुमा विचार, नीति, पद्धति, योजना, निस्कर्ष, राम्रा भाषण र लामा लेखहरुको मुहान सोध्दा ती जिल्ल पर्छन् र यस प्रश्नको उत्तर दिन सक्दैनन् । न त उनीहरु पदार्थ चेतनामा र चेतना पदार्थमा परिवर्तित हुन सक्छ भन्ने कुरा नै बुझ्छन्, यद्यपि यस्ता फट्कोहरु दैनिक जीवनकै घटनाहरु हुन्छन् । त्यसकारण हाम्रा कामरेडहरुलाई ज्ञानको द्वन्दात्मक भौतिकवादी सिद्धान्तमा शिक्षित पार्नु आवश्यक छ, जसबाट तिनले चीनलाई महान् र शक्तिशाली समाजवादी देश बनाउन र संसारभरिका उत्पीडित र शोषित व्यापक जनसमूहलाई सहायता गर्ने हाम्रो अन्तर्राष्ट्रियवादी कर्तव्यको पूर्तिका लागि आफ्नो विचारलाई सही दिशातिर लगाउन सक्छन् । जाँचबुझ र अध्ययन तथा अनुभवको सार झिक्नमा सिपालु हुन सक्छन्, अप्ठ्याराहरुलाई जित्न सक्छन्, गल्तीहरु कम गर्न सक्छन्, आफ्नो काम झन राम्ररी गर्न सक्छन् र कडा संघर्ष गर्न सक्छन् ।”

स्रोत : क. माओद्वारा लिखित “दर्शनबारे पाँच कृति” नामक ऐतिहासिक पुस्तक

Related posts

शनिबार थप ३३१ जना कोरोना संक्रमित, संक्रमित ८६०५ पुग्यो

Aarsha Khabar

शिताटी द्रङ्गको काखमा चन्द्रागिरि प्रशासकीय भवन

Aarsha Khabar

उपचारपछि चार जना घर फर्किए, नेपालमा ३१ जनामा कोरोना पोजेटिभ

Aarsha Khabar