आर्ष खबर

चन्द्रागिरि समाचार

चन्द्रागिरिमा ६५ जना आरडिटी पोजेटिभ, दहचाेक क्वारेन्टाइनमा बस्नेहरु भन्छन् विभेद भयो

  • ज्ञानेन्द्र महत

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा आरडिटी परीक्षणबाट पोजेटिभ देखिएका ६५ जना मध्ये ५६ जनालाई दहचाेकस्थित क्वारेन्टाइन केन्द्रमा राखिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) परीक्षणका क्रममा आरडिटी परीक्षण पोजेटिभ देखिएपछि उहाँहरुलाई नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा राखिएको हो । केही दिन अघि चन्द्रागिरि नगरपालिमा ५ जना कोरोना संक्रमित भेटिएपछि नगरपालिकाले जेठ ३ गते दिउँसो १२ बजेदेखि ९ गतेसम्म नगरपालिका पूरै सिल गरी आरडिटी परीक्षण सुरु गरेको थियो । नगरको १५ वटै वडामा गरिएको आरडिटी परीक्षणको क्रममा पोेजेटिभ देखिएका जनप्रतिनिधि, स्वयम्सेवीका, कर्मचारी र स्थानीयहरु अहिले बलम्बु क्वारेन्टाइन केन्द्रमा छन् ।

बलम्बु क्वारेन्टाइन केन्द्रमा उहाँहरुको अवस्था बुझ्न आर्ष नेपालको टिम त्यहाँ पुग्यो । उहाँहरु मध्ये क्वारेन्टाइनमा रहेका व्यक्ति (वडा सदस्य) लाई सोध्दा नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइन नै सुरक्षित नभएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘क्वारेन्टाइन केन्द्रमा हुनु पर्ने मापदण्ड नै यहाँ छैन । हाम्रो आरडिटी परीक्षण पोजेटिभ देखिएपनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको त छैन नी । यहाँ बस्दा एउटै ट्वाइलेट, बाथरुम प्रयोग गर्दा यसले झनै विकराल समस्या निम्तन्छ कि भन्ने चिन्ताले पिरोलेको छ ।’

उहाँ भन्नुहुन्छ, चेकजाँचको क्रममा हामीमाथी विभेद गरियो । वडा अध्यक्ष माथि सबैको पीसीआरबाट चेक गरियो, वडा सदस्य र अन्य व्यक्तिहरुलाई आरडिटीबाट चेक गरियो । पीसीआरबाट चेक गरेकाहरुको रिपोर्ट त आइसकेको छैन । उहाँहरु अहिले पनि आनन्दले हिड्डुल गर्ने, व्यक्ति व्यक्तिसँग भेट्ने गर्नुभएको छ । उहाँहरु पनि रिपोर्ट नआउञ्जेलसम्म क्वारेन्टाइनमा बस्नु पर्छ या पर्दैन ? ‘हामीलाई आरडिटीबाट चेक गरी यहाँ राख्ने काम गरियो, उहाँहरु आनन्दले बाहिर हिडिरहेका छन् । उहाँहरुले किन आरडिटीबाट परीक्षण गर्नुभएन ? उहाँहरुले ठूला व्यक्ति र साना व्यक्ति भनि प्रमाणित यहीबाट गर्नुभएको छ ।’

अर्का व्यक्ति (वडा सदस्य) भन्नुहुन्छ, यहाँ बस्नु भन्दा हामी घरमै सुरक्षा अपनाएर बसेको भए अझ बढी सुरक्षित हुने थियौं । अपमानजनक रुपमा खाना दिने गरिएको छ । यहाँ पानीको राम्रो व्यवस्था छैन । हिजो देखि साबुन पानीले हात धुनसम्म पाइएको छैन, हातमा सेनिटाइजर मात्र दलेर बसिरहेका छौं । यहाँ अन्यत्रबाट ल्याइएका विरामी पनि राखिएको छ । यही, यसरी नै राख्ने हो भने अझ बढी जोखिम हुन्छ हामीलाई । संक्रमणको तनाब भन्दा पनि यहाँको वातावरणले अरु कुनै रोगको सिकार भइन्छ कि जस्तो लाग्छ । हामीलाई तत्काल थानकोटको क्वारेन्टाइन अस्पतालमा लगियोस् उहाँ भन्नुहुन्छ ।

चन्द्रागिरि नगरपालिकाले अहिलेसम्म ६६६ जनामा कोरोना भाइरस (कोभिड–१९) को चेकजाँच गरेको छ । जसमा आरडिटीबाट ५६० जना र पीसीआरबाट १०६ जनालाई परीक्षण गरिएको थियो । आरडिटी परीक्षणबाट ६५ जनामा पोजेटिभ देखिएको थियो । पोजेटिभ मध्य ५६ जनालाई दहचाेकस्थित क्वारेन्टाइन केन्द्रमा राखिएको छ भने बाँकीलाई १३ र १४ नम्बर वडाले तयार पारेको वडाको आ–आफ्नै क्वारेन्टाइनमा राखिएको छ ।

चन्द्रागिरि नगरपालिकाले संचानलमा नरहेको दहचाेकस्थित मनमोहन मोमोरियल अस्पतालको भवनलाई क्वारेन्टाइन केन्द्रको रुपमा सुरुवात गर्नु राम्रो हो । तर, क्वारेन्टाइन केन्द्रलाई सबैभन्दा पहिले क्वारेन्टाइन केन्द्रको मापदण्ड अनुसार सुधार्न आवश्यक छ । क्वारेन्टाइन केन्द्र बनाइसकेपछि वरिपरिको बस्तिलाई सम्भावित खतराबाट कसरी जोगाउन सकिन्छ त्यसतर्फ पनि ध्यान दिन जरुरी छ । खुल्ला ठाउँ, त्यही नजिकैको सडक हुँदा त्यसले अर्को दुर्घटना निम्त्याउन सक्छ । जतिसक्दो चाडो क्वारेन्टाइन केन्द्रलाई तारबार लगाउने, बार घेर्ने या अन्य कुनै सुरक्षा नीति अपनाई सुरक्षित बनाउन तर्फ लाग्नु पर्छ । यति मात्र होइन यदि वडाले पनि आ–आफ्नो वडामा क्वारेन्टाइनको व्यवस्था गरेको भए समस्या यतिबेला त्यति भयाबह हुने थिएन । आफ्ना वडाका व्यक्तिहरुलाई वडामै राख्ने व्यवस्था गरिएको हुने थियो भने उहाँहरु अझ बढी सुरक्षित हुने थिए । अन्यत्रबाट ल्याइँका व्यक्ति तथा सबैलाई एकै ठाउँमा राखिदा झनै खतरा हुन सक्छ । केही वडाहरुले आफ्ना वडामा क्वारेन्टाइनको व्यवस्था गरिसके छन् । अब बाँकी रहेका वडाले पनि तत्काल क्वारेन्टाइनको व्यवस्था गर्न आवश्यक छ । अन्यथा अर्को ठूलो क्षति ननिम्तेला भन्न सकिदैन । आफु पनि बचौं, अरुलाई पनि बचाऔं ।

Related posts

‘कम्युनिष्ट र कांग्रेसको विकल्प राप्रपा’

Aarsha Khabar

‘लक डाउन तोडेर बहादुरी नदेखाउ’

Aarsha Khabar

संचार माध्यमबाट सरकारलाई हमला गर्ने प्रवृत्ति बढ्यो : प्रधानमन्त्री

Aarsha Khabar