आर्ष खबर

अन्तर्वार्ता साहित्य

‘मलाई प्रेम गर्नु र कविता लेख्नु उस्तै उस्तै लाग्छ’

‘‘उहिल्यै इतिहासमा–
बेमौसमी हुरीबतास र बर्सात्को एक दिन
आफ्नै देशभित्र निर्वासित सुदूर गाउँमा कतै
भित्तामा स–सम्मान झुण्ड्याइएको
वर्षौ पुरानो देशभक्त अमर सिंहको तस्बिरबाट
अचानक आँखा झरेछन्

हुनसक्छ–
ठीक त्यही बेलादेखि यो देशका मार्गदर्शकहरुले
दृष्टि गुमाएको हुनुपर्दछ !’’

– भीमसेन थापाको सुसाईड नोट

– सामान्य अर्थभन्दा पर–पर भन्दा अझ पर एउटा नाम छ । एउटा कालजयी आकृति छ ।

– काव्य चेतनाको गहिरो समुन्द्रमा कविताको शास्वत स्वरुप खोजिरहेको एउटा गोताखोर छ ।

– मरुभूमिमा जल, काँडामा फूल र घृणामा प्रेम खोज्दै भौतारिरहेको एउटा यायावर छ ।

– इतिहासको पन्ना पल्टाए पनि देखिने, वर्तमानको पृष्ठ खोले पनि देखिने र भविष्यको अनन्त दृष्यमा पनि भेटिने एउटा स्रष्टा छ ।

– नेपाली कविताको क्यानभासमा छुटाउनै नहुँने एउटा रंग छ । त्यो रंग हो कवि मोमिला जोशी !

  • पैयूँ फूल्न थालेपछि
  • नीलो–नीलो आकाश र दुई थोपा आँशु
  • जुनकीरीहरु ओर्लिरहेछन्
  • दुर्गम उचाईमा फूलको आँधी
  • भीमसेना थापाको सुसाइडनोट
  • ईश्वरको अदालतमा आउटसाइडरको बयान (लगायत)

माता सनकादेवी र पिता सिद्धिप्रसाद जोशीका सन्तानका रुपमा धनकुटा–७ मा जन्मनु भएकी माथि उल्लेखित चर्चित कविता, निबन्धका रचियता मोमिला जोशी प्राध्यापन गर्नुहुन्छ । नेपाली साहित्यको कविता र निबन्ध विधामा आफ्नो अलग्गै उपस्थितिद्वारा नेपाली साहित्यको उन्नयन र विकासमा अतुलनीय योगदान पुर्याउनु भएकी उनै कवि/निबन्धकार मोमिला जोशीसँग मौन आवाजले गरेको साहित्यिक वार्ताः

 

  • अहिले संसार लकडाउनमा छ स्वाभाविक हो हामी सबै लकडाउनमा छौं । तर, यही समयमा सर्वाधिक साहित्य सिर्जना भइरहेका छन् । तपाईं चाहिँ के गर्दै हुनुहुन्छ ?

हो, संसार नै लकडाउनमा छ । मानौँ, प्रकृति चकचके मानव सभ्यतालाई नै बन्दी बनाएर आफू मस्तसँग लामो छुट्टी मनाइरहेजस्तो लाग्छ । आकाश सङ्लिएको छ, पानी सङ्लिएको छ, प्रदूषणको घाउमा बिस्तारै खत बसेजस्तो छ ! यद्यपि स्वतन्त्रताप्रेमी सिङ्गो मानव जाति नै प्रश्नै प्रश्नको साङ्लोले बाँधिएर त्रास, छटपटी, अनिश्चितता एवं उकुसमुकुसमा श्राप काटिरहेजस्तो लाग्छ । कतै सडकभरि पैसा फालिएका छन्, कतै मर्नुअघि नै लास गाड्ने खाल्डो खन्छन् त कतै भोकले मरिरहेका छन् । मान्छेका सारा अहङ्कारहरू चुरचुर हुँदै गएको भयानक चलचित्रजस्तो परिवेशमा हामी पनि पात्रतामै छौँ । यस्तो सपनाजस्तो परिवेशको पात्रताबाट बाहिर निस्कन निकै गाह्रो नै हुँदोरहेछ । सायद, यस्तोमा पनि दर्शक बन्न सक्दा मज्ज्जैले लेखिन्छन् । तर, पात्रतामा त मान्छे आफै युद्ध लडिरहेको योद्धा ! अनि विचरा उसले के लेखोस् ! सायद, युद्ध लडिरहेको योद्धासरह यो मेरो कमजोरी हुनसक्छ ! यसैले साहित्यसँग सम्बन्धित सामान्य कर्म र आत्मालापबाहेक यही समयलाई सदुपयोग गरेर केही विशिष्ट लेख्न सकिरहेकी छैन ।

  • तपाईंको विचारमा साहित्यले जीवनको कुन तहलाई स्पर्श गर्न सक्नुपर्छ ?

मेरो विचारमा सहित्यको स्पर्श त असाध्य विणाजस्तो जीवनको बाहिरी तहभन्दा नि चेतनाको तहसँग सम्बद्ध हुन्छ भन्ने लाग्छ । यस आधारमा भन्दा साहित्य स्वयम् उपल्लो मानव चेतनाको अनुष्ठान भएकाले विशेषत: यसले मानव चेतनाको उपल्लो तहलाई नै स्पर्श गर्न सक्नुपर्छ भन्ने लाग्छ ।

साहित्यमा मेरो प्रवेश भन्नु एकातिर म भित्रको कोमल संवेदनाको प्राकृतिक तर सुरुचिपूर्ण कलात्मक प्रस्फुटन हो कि भन्ने ठान्छु त कहिले मेरो आस्त्वितिक भोक शमनको खोज हो कि भन्ने लाग्छ । हुन त सुन्दर धून निकाल्न नसकेको आत्माको सितारजस्तो जीवनमा जति हिँडे नि कतै पुगेजस्तो नै लाग्दैन ।

  • साहित्यमा तपाईंको प्रवेश के प्राप्तिका निम्ति थियो ? यति लामो कविता यात्रामा समयको कुन मोडमा आइपुगें जस्तो लाग्छ ? के पाएँ जस्तो लाग्छ ? के गुमाएँ जस्तो लाग्छ ?

यथार्थमा साहित्यमा मेरो प्रवेश भन्नु एकातिर म भित्रको कोमल संवेदनाको प्राकृतिक तर सुरुचिपूर्ण कलात्मक प्रस्फुटन हो कि भन्ने ठान्छु त कहिले मेरो आस्त्वितिक भोक शमनको खोज हो कि भन्ने लाग्छ । हुन त सुन्दर धून निकाल्न नसकेको आत्माको सितारजस्तो जीवनमा जति हिँडे नि कतै पुगेजस्तो नै लाग्दैन । यद्यपि कहिलेकाहीँ लेखनको गहिरो लतमा डुब्दा कतै पुगेजस्तोको भ्रमले केही पाएजस्तो लाग्छ । फेरि भ्रम टुट्दा भने केही नपाए पनि समय बाहेक केही गुमाएजस्तो त लाग्दैन । तर त्यो समय अब कहिल्यै फर्केर आउने छैन, हो !

  • तपाईंका समकालीनहरु भन्दा तपाईं कुन अर्थमा भिन्न हो ? कुन अर्थमा भिन्न होइन ?

भिन्न हो, यस अर्थमा कि म लेखनसँगसँगै साहित्यिक अभियन्ताको भूमिकामा पनि त्यत्ति नै समय खर्चिन्छु । सायद बढी पनि ! फेरि भिन्न होइन यस अर्थमा कि म मात्र होइन प्रायः सबै नै लेखक आफ्नो लेखनको जानअन्जान सामाजिक अनुमोदन खोजिरहेको हुन्छ, होइन र ! किनकि लेखन आफैमा एकान्तको सङ्गीत भए नि समाजको दुश्मन भने जरुर होइन ! फेरि कुनै पनि लेखक सामान्यत: जीवन, समाज र प्रकृतिसँगको सीमान्त गहन संवादमा हुन्छ र समयको उज्यालो अँध्यारोसँग प्रेमपूर्ण तादात्म्यमा हुन्छ । यसरी आफ्नो तीब्र सौन्दर्यचेतनाको सुदूर कन्दराबाट शिलाजित भएर निस्कन्छ उसको लेखकीय झङ्कार ! जहाँ ईश्वरत्व जन्मजात सुरक्षित हुन्छ भन्ने लाग्छ !

  • जीवन यापनका लागि सम्बन्धहरुको के कति खाँचो पर्छ ? सबैभन्दा जटिल सम्बन्ध कोसँगको हो ? केसँगको हो ?

जरुर जीवनयापनका लागि सामाजिक सम्बन्धहरूको खाँचो पर्छ किनकि मानव विशिष्ट सामाजिक प्राणी हो । तर प्रेमविनाको हर सम्बन्ध बेकम्मा हुन्छ या अझ भनौँ जटिल हुन्छ । चाहे मान्छेसँगको सम्बन्धमा होस् या बस्तुसँग होस् या कर्मसँग होस् । यद्यपि तपाईँले भन्न खोज्नुभएको मान्छेसँगको सबैभन्दा जटिल सम्बन्ध सबैभन्दा नजिककोसँगको हुन्छ । किनकि सबैभन्दा प्रिय पनि र महाघृणा, महाघात एवं महाखतराको जोखिम पनि त्यसैमा हुन्छ । अब केसँग भन्ने अर्थमा जेसँग पनि सम्बन्धमा एडिक्शन नै जटिलताको सङ्केत हो कि भन्ने पनि लाग्छ है !

नेपाली साहित्यमा गुट, समूह र समुदायको मात्रै पहुँच छ भन्ने गुनासो जायज लाग्छ । किनकि यसो नगरे सधैँ कोष्ठकबाहिर परिने सम्भावना रहन्छ । जसरी कम्तीमा प्रज्ञा प्रतिष्ठान भनेको त प्राज्ञिक काम गर्ने राष्ट्रिय थलो हो । तर, यसलाई अपवादबाहेक पार्टीकै भर्तीकेन्द्र बनाइएको छ । यो राष्ट्रकै लागि अत्यन्त घातक तर तितो सत्य हो ।

  • नेपाली साहित्यको मौलिक चरित्र कस्तो हो ? सामाजिक जीवनको झ्यालबाट हेर्दा आजको साहित्य मान्छेको कति निकट छ ? कति सुदुर छ ?

नेपाली साहित्यको मौलिक चरित्र भनेको नेपालीपनको गन्धसुगन्ध नै भन्ने लाग्छ किनकि लेखनी आफैमा धरतीको सतह छाडेर केवल आकाश छुने रहर होइन । जबसम्म यसले भावकीय सामाजिक तन्तुलाई झङ्कृत पार्दैन, भावकीय आँखाबाट तृप्तिको उज्यालो परावर्तन हुँदैन र आन्तरिक या वाह्य जड रूपान्तरणको महसुस हुँदैन; तबसम्म यसले मोक्ष प्राप्त गर्न सक्दैन । यस अर्थमा आजको साहित्य मान्छेको निकट छैन त भन्न सकिन्न । यद्यपि साह्रै सुदूर नभए पनि केही दूर भएजस्तो या रोवर्टको दरवारजस्तो भने लाग्छ है !

  • नेपाली साहित्यमा गुट, समूह र खास समुदायको मात्रै पहुँच छ भन्ने गुनासो छ तपाईंलाई के लाग्छ ?

वास्तवमै नेपाली साहित्यमा गुट, समूह र समुदायको मात्रै पहुँच छ भन्ने गुनासो जायज लाग्छ । किनकि यसो नगरे सधैँ कोष्ठकबाहिर परिने सम्भावना रहन्छ । जसरी कम्तीमा प्रज्ञा प्रतिष्ठान भनेको त प्राज्ञिक काम गर्ने राष्ट्रिय थलो हो । तर, यसलाई अपवादबाहेक पार्टीकै भर्तीकेन्द्र बनाइएको छ । यो राष्ट्रकै लागि अत्यन्त घातक तर तितो सत्य हो । यसमा सबैले व्यक्तिस्वार्थभन्दा माथि उठ्नु जरुरी छ ।

  • तपाईंको विचारमा कविता के हो ?

हेर्नुहोस् ! मलाई प्रेम गर्नु र कविता लेख्नु उस्तै उस्तै लाग्छ । यदि यसमा अहङ्कारको प्रवेश भयो भने प्रेम र कविता दुवैलाई विरूप बनाइदिन्छ र दुवैलाई अँध्यारोमा पनि चिन्न सकिन्छ, महसुस गर्न सकिन्छ । यसैले कविता भनेको प्रकृतिको प्रत्यक्ष सिर्जना शिरीष, गुलाफ र गुँरासभन्दा अलि प…र शिरीषजस्तै, गुलाफजस्तै, गुराँसजस्तै आस्त्वितिक जोखिममा वक्ररेखाले हिँडिएका मानवसिर्जना हुन्, शब्दको फूलगुच्छासरी मानवसंवेदनाको जादुगरी सुन्दरतम कलात्मक प्रकाशना हुन्; जसले आवाज दिन्छ मान्छेकै चेतनामा, स्पर्श गर्छ मान्छेकै हृदयमा र सम्मोहनमा मान्छेले त्यहीँ आफू हुनुको गर्वबोध गर्छ ।

  • आजको कवि र कविताले बिर्सेको दायित्व के हो ? बोक्नुपर्ने अभिभारा के हो ?

आज, केवल आफूलाई मात्र सम्झनु नै कवि र कविताले आफ्नो दायित्व बिर्सेको हो भने बोक्नुपर्ने अभिभारा घामजूनले जस्तै सकेसम्म स्वाभिमानपूर्वक सबैलाई सम्झनु हो । जसरी-
फूल होस् वा काँडा
कसैकोमा आफू कहिल्यै धाउँदैनन्
हेर्नेको आँखै छेकिन्छ बरु बादलले
घामजून त कहिल्यै छेकिन्नन् …

  • जो कविताको बाटो हिँडिरहेका छन् – हिँड्न चाहन्छन् उनीहरुलाई तपाईं कस्तो मार्ग दर्शन गराउन चाहनुहुन्छ ?

– सबैलाई थाहा छ । जस्तो कि –
हरेक साँझ उज्यालो मबाट गुज्रन्छ
तर मसँग उज्यालो रहन्न
हरेक बिहान सागरले मलाई नुहाइदिन्छ
तर एक बूँद पनि मेरो रहन्न ।

यिनै सत्यका साथ हरेक मान्छे आफैमा युनिक हुने हुनाले आ-आफ्नै स्वतन्त्र रङ्ग, ढङ्ग, सुर र लयमा जीवनजस्तै कविता र कविताजस्तै जीवनको मार्ग पहिल्याए त्यो नै सबैभन्दा ठुलो न्याय हुनेछ ।

Related posts

‘चन्द्रागिरिमा रहेका इँट्टाभट्टाका कारण ६ महिना बाँचिन्छ कि बाँचिदैन ?’

Aarsha Khabar

सामाजिक संस्कार अपरम्पार

Aarsha Khabar

च्याउको सुप

Aarsha Khabar