आर्ष खबर

विचार

सुगौली सन्धिको घाउ लिम्पियाधुरा

नेपालले विभिन्न मुलुकसँग सन्धि सम्झौता गर्दै आएको पाइन्छ । नेपाल राष्ट्रलाई फाइदा पुर्याउने उद्देश्यले सन्धि गरिन्थ्यो । कतिपय सन्धिले नेपाललाई प्रत्यक्ष फाइदा पुर्याएको छ भने कतिपय बल्झिरहने घाउको रुपमा रहिरहेको छ । सत्ता टिकाउन पनि सन्धिमा हस्ताक्षर गर्ने रोग नेपाली शासकलाई नलागेको हैन तर २ डिसेम्बर १८१५ इ.मा भएको सुगौली सन्धि भने चुनौती र अवसरको रुपमा रहेको छ । दुई सय वर्ष अगाडि भएको यो सन्धिले नेपालीहरुलाई झकझकाइ रहन्छ र एकताबद्ध राष्ट्र बनाउन बल प्रदान गर्दछ । १८१४ ई. देखि १८१६ ई. अर्थात दुई वर्षसम्म नेपाल र इष्टइन्डिया कम्पनी सरकारबीच चलेको युद्धले निम्ताएको सुगौली सन्धिले राज्य बिस्तार (एकीकरण) अभियान मात्र सदाको लागि समाप्त गराएन की नेपाललाई ठूलो नोक्सानी समेत पुर्यायो । कम्पनीसँग नेपालको कुनै विवाद थिएन । २ अक्टोबर १८०१ ई.मा नेपाल र इष्टइन्डिया कम्पनीका बीच १३ सुत्रिय सीमा सन्धि भइसकेको थियो किन नेपालसँग युद्ध गर्न तम्सियो कम्पनी सरकार ? युद्धबाट कम्पनी सरकार के सिद्ध गर्न चाहन्थ्यो ?

१४९८ ई. तिरबाट नै भारतमा पश्चिमा राष्ट्रहरुको प्रवेश शुरुवात भइसकेको थियो । व्यापारकै शिलशिलामा ब्रिटिश पनि भारत आइपुग्यो । अरुको व्यापारलाई उछिन्दै इष्टइन्डिया कम्पनी भारतमा व्यापार र राजनीति दुबै गर्न थाल्यो । भारतको राजनीतिक सत्ता ब्रिटिश साम्राज्यको अधिनमा आयो । राज्य बिस्तार अभियानमा तल्लिन भइ पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको नेपालको गतिविधिलाई तत्कालिन ब्रिटिश साम्राज्यवादले नजिकबाट नियाली रहेको थियो । ब्रिटिश साम्राज्यवादले जुनसुकै बेला दुःख दिन सक्छ भन्ने नेपाली शासकलाई लाग्यो । नेपाल दक्षिण एशियाबाट कम्पनी सरकारलाई हटाउन चाहन्थ्यो । अंग्रेजहरुको चुंंगुलबाट दक्षिण एशियालाई मुक्त राख्न अंग्रेज विरोधी एशियाली संघ निर्माण गर्ने प्रयत्न नेपालले गरिरहेको थियो । भारतभित्रका केही देशी राज्यहरु इष्टइन्डिया कम्पनीका गुलाम भइसकेका थिए । कम्पनीको प्रभावमा नपरिसकेका देशी राज्यमा एशियाली संघ बनाउन सहयोगको अपेक्षा सहित नेपालले पत्राचार गर्यो । पत्राचार चीनलाई पनि गरिएको थियो । त्यसबखत नेपालभित्र फ्रेन्च विशेषज्ञहरुद्वारा हातहतियार र सैनिक तालिम चलिरहेको थियो, यो गतिविधि अंग्रेजहरुलाई मन परेन । कम्पनी सरकार युद्धको लागि बहाना खोज्न थाल्यो ।

नेपाल दक्षिण एशियाबाट कम्पनी सरकारलाई हटाउन चाहन्थ्यो । अंग्रेजहरुको चुंंगुलबाट दक्षिण एशियालाई मुक्त राख्न अंग्रेज विरोधी एशियाली संघ निर्माण गर्ने प्रयत्न नेपालले गरिरहेको थियो ।

प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण तिब्बत धेरैले नजर लगाएको ठाउँ मध्ये एक हो । कैलाश मानसरोवर विषेश तीर्थस्थल तथा यात्रास्थलको रुपमा परिचित थियो । १७९३ ई.मा नेपाल आईपुगेको कर्क प्याट्रीक मिसनले तिब्बतमोहको बेलिबिस्तार लगाई नेपालको सामरिक महत्व झल्किएको विस्तृत विवरण पेश गरेको थियो । नेपालमा प्रशस्त तामा फलाम पाइने साथै जैविक विविधता लगायत महत्वपूर्ण प्राकृतिक सम्पदाले भरिपूर्ण स्थान भएको सो विवरणमा पाइन्छ । त्यसताका कलकत्ता र लखनउ बजारमा तामा र फलाम नेपाली व्यापारिहरुको हातमा थियो । नेपालको तामा फलाम भारतीय बजारहरुमा बिक्री हुन्थ्यो । कुमाउको बाटो भएर तिब्बत सजिलै पुग्न सकिन्थ्यो । कम्पनी सरकार यी र यस्ता प्राकृतिक स्रोत र सम्पदा नेपाल र तिब्बतबाट प्राप्त गर्न चाहन्थ्यो । नेपालद्वारा पराजित कुमाउ, गढवालका राजा–रजौटामा आफ्नो अस्तित्व गुमेका कारण नेपाल विरोधी भावना थियो । कम्पनी सरकार यसबाट फाइदा लिन चुकेन साथै थप बहाना खोजिनै रह्यो ।

बुटवल र स्युराज एवं रौतहटका २२ गाउँको विषय तत्कालिन विवादको रुपमा सृजना भइ आयोे । जुन क्षेत्र पाल्पाको अधिनमा पर्दथ्यो । पाल्पा नेपाल राज्यबाट सञ्चालन हुन्थ्यो । यी अवधका क्षेत्र हुन्, कम्पनी सरकारमा अवध गाभिएपछि स्वतः यी क्षेत्रहरु कम्पनी सरकारको अधिनमा आयो कसरी नेपालको हुन्छ ? भन्ने तर्क कम्पनी सरकारले राख्यो । १८१३ ई. मा सीमा निर्धारण कमिशन गठन भयो । यो कमिशनले कुनै निष्कर्ष निकाल्न भ्याएन । कम्पनी सरकारबाट भारत हेर्ने पहिलो गभर्नर वारेन हस्टिग्स थिए जसले यी क्षेत्र २५ दिनमा खाली गरिदिनु अन्यथा खाली नभए हमला गरि लिनु भनि गोरखपुरस्थित आफ्नो कलेक्टरलाई भने र यसको बोधार्थ ११ मार्च १८१४ ई. मा नेपाल पठाए । नेपालबाट जवाफ नआएपछि सैनिक हस्तक्षेप भयो, १६ नेपाली मारिए । पुनः पाल्पाबाट गएको नेपाली फौजले नवनिर्मित ठानामा आक्रमण गर्यो, १८ अंग्रेज सैनिक मारिए, ६ घाइते भए । वारेन हस्टिग्सले १ नोभेम्बर १८१४ का दिन नेपाल विरुद्ध युद्धको घोषणा गरे । यो युद्ध दुई वर्षसम्म चल्यो । नेपालीहरुले वीरतापूर्वक युद्ध लडे । विविध चरणका वार्तापछि २ डिसेम्बर १८१५ ई. का दिन अंग्रेजका तर्फबाट प्रस्तावित सन्धिको प्रारुप १५ दिन भित्र समर्थन दस्तखत गरि पठाउनु भनि नेपाल पक्षलाई भनियो । कम समयको कारण १५ दिनमा हस्ताक्षर हुन सकेन, युद्ध निरन्तर चलिरह्यो । नेपाल दरबारले लालमोहर लगाइ ४ मार्च १८१६ ई. का दिन २ः३० बजे चन्द्रशेखर उपाध्याय मार्फत अंग्रेजलाई सन्धिपत्र हस्तान्तरण गर्यो । सुगौली सन्धिले राज्य बिस्तार अभियान मात्र रोकिएन, नेपालले ठूलो भू–भाग समेत गुमाउन पुग्यो । विशाल नेपाल खुम्चिन बाध्य भयो ।

काली नदीका पश्चिममा रहेका प्रदेशहरुमा निपाउलका राजाले आफू स्वयं, आफ्ना प्रतिनिधि तथा उत्तराधिकारिहरुका सारा दावाहरु त्याग्नेछ र ती देशहरु र त्याँहाका निवासीहरुसँग कुनै सम्पर्क कहिल्यै राखिने छैन

सन्धि शुरुमा पारसी र पछि अंग्रेजी भाषामा लेखिएको थियो । नौ धारामा विभक्त यस सन्धिको पाँचौं धारा (काली नदीका पश्चिममा रहेका प्रदेशहरुमा निपाउलका राजाले आफू स्वयं, आफ्ना प्रतिनिधि तथा उत्तराधिकारिहरुका सारा दावाहरु त्याग्नेछ र ती देशहरु र त्याँहाका निवासीहरुसँग कुनै सम्पर्क कहिल्यै राखिने छैन) ले काली नदीलाई सीमाको रुपमा लिएको देखिन्छ । काली नदी पूर्व नेपाल र पश्चिम कम्पनी सरकार हाल भारत रहेको छ । नदी सिद्धान्तको आधारमा महाकालीको मुहान लिम्पियाधुरा नै देखिन आउँछ । नदीको पानीको मात्रा, लम्बाइ, जलाधार क्षेत्र र नदीको क्रमाङ्कको आधारमा मूल नदी कुन हो भनेर छुट्टाइन्छ । हाल भारतद्वारा विवादित बनाइएको लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रमा लिम्पियाधुरा स्रोतभइ बग्ने महाकाली जति ठूलो, लामो, र जलाधार क्षेत्र भएको अर्को नदी छैन । लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्र सुगौली सन्धि अघि र पछि पनि नेपालकै हो । १८२७ ई.मा इष्टइन्डिया कम्पनी सरकारको हाइड्रोग्राफरले ब्रिटिश पार्लियामेन्टको ऐन अनुसार तयार गरी प्रकाशित गरिएको नक्शामा लिम्पियाधुराबाट उत्पत्ति हुने नदीलाई काली नदी भनि किटान गरिएको छ । यस्ता धेरै प्रमाणहरु नेपालसँग छ ।

भारत कम्पनी सरकारबाट १९४७ ई.मा स्वतन्त्र भयो तर किन ऊ असल छिमेकी नबनी इन्डिया कै रवाफ देखाइरहन चाहन्छ ? २९ अगष्ट १९५४ ई. चीन र भारत बीच ५ बुँदे सन्धि भयो । त्यस सन्धिमा भारत–तिब्बत व्यापार, कैलाश मानसरोवर यात्राको प्रशंग उल्लेख गरिएको छ । त्यतिबेला जवाहरलाल नेहरु भारतको प्रधानमन्त्री थिए । तर, यो सन्धि लामो समय टिक्न सकेन २० अक्टोबर १९६२ का दिन चीन भारत युद्ध शुरु भयो । यो युद्ध एक वर्षसम्म चल्यो । नेहरुले आफ्नो विदेश नीति असफल भएको स्वीकार्दै भने “हामी मूर्खहरुको स्वर्गमा रहिरहेका छौं” । युद्धपछि कालापानी क्षेत्रमा भारतीय सेनाले पोष्ट बनाइ बस्न थाल्यो । जसको निरन्तरता आजसम्म पनि छ । लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्र नेपालको दार्चुला जिल्ला अन्तर्गत पर्दछ । सुगौली सन्धिपछि पनि अंग्रेजले सामरिक महत्वको ठाउँ भएको हुनाले नक्शा मार्फत विवाद कोट्याइरहेको थियो । सोही रोग भारतलाई पनि लागेको छ ।

नेपाली बस्ति बिस्तापित बनाउँदै आफ्नो पोष्ट राख्दैमा यो क्षेत्र भारतको हुन सक्छ ? भारत र चीनबीच लिपुलेकलाई सीमा बिन्दु बिस्तार गर्ने वा लिपुलेक च्याङ्ला भञ्ज्याङलाई व्यापारिक नाका बिस्तार गर्ने सहमती हुँदैमा यस क्षेत्रलाई नेपालको होइन भन्न मिल्छ ? बिना स्वीकृति नेपालको भूमिबाट मानसरोवर जाने बाटो खोल्न मिल्छ ? यो नेपाल र नेपालीलाई हेप्ने परिपञ्च मात्रै हो । नेपाल सामु आएको यो चुनौतीलाई निस्तेज पार्दै सुगौली सन्धिबाट बल्झिएको लिम्पियाधुराको घाउ निको पार्न यस संकटलाई अवसरको रुपमा प्रयोग गरौं ।

 

Related posts

सामाजिक क्रान्ति, २१औं शताब्दीको प्राप्ती

Aarsha Khabar

भौगोलिक तथा प्राकृतिक सौन्दर्यको नेपाल

Aarsha Khabar

गुरू, ज्ञान र श्लोक

Aarsha Khabar