आर्ष खबर

अन्तर्वार्ता

‘बेरोजगार संख्या घटाउन बैज्ञानिक नीति अपनाउन आवश्यक’

  • ज्ञानेन्द्र महत

कोभिड–१९ को माहामारीमा तपाईको सनसाइन ब्रेभेज प्रोडक्सन प्रा.लि.ले पानीको मागलाई कसरी पुरा गरिरहेको छ ?

– सबै भन्दा पहिले आर्ष नेपाललाई धन्यवाद । कोभिड–१९ को कारणले गर्दा विश्व नै यतिखेर लक डाउनको अवस्थामा छ । यस अवस्थालाई दोस्रोे विश्व युद्ध भन्दा पनि ठूलो समस्याको रुपमा व्यवसायीहरुले लिएका छन् । कृषि, पर्यटन, साना मझौला उद्योग देखि बहुर्राष्ट्रिय कम्पनी सबैलाई असर गर्ने कुरा स्वभाविकै छ । हामी एउटा पानीको फिल्डमा काम गर्ने र यो अति आवश्यक बस्तुको रुपमा रहेकोले उपभोक्ताहरुलाई सहुलियत र सहज ढंगले पानी वितरण र घर–घरसम्म पुर्याउने व्यवस्था गरिरहेका छौं । हाम्रो कम्पनी पर्यटन क्षेत्रसँग पनि जोडिएको कारणले होटल, रेष्टुरेन्ट, लजलगायत क्षेत्रमा पानी जाने हुँदा कोभिड–१९ ले आक्रान्त बनिरहेकोले यतिखेर झण्डै ८० प्रतिशत मार्केट डाउन भएको छ । २० प्रतिशत मार्केटको लागि मात्र उद्योगहरु संचालन गरेका छौं । केही उद्योगहरुले कर्मचारीलाई विदा गरेर पठाइसकेको छ । हामीले २० प्रतिशत उद्योग संचालन गरेर कर्मचारीहरुलाई स्वास्थ्य सम्बन्धी सजगता अपनाई सहुलियत र सुविधासहित काम लगाई रहेका छौं । अहिलेको अवस्थामा सम्पूर्ण पानी कारखाना मारमा परिरहेको छ । यसको संरक्षण र प्रवर्धन गर्न सरकारको उत्तर दायित्व र जिम्मेवारी हो । सरकारले सम्पूर्ण उद्योगहरुलाई कर, बैंकका व्याज, सहुलियत र सुविधा दिन सक्नुपर्छ, उद्योगीहरुसँग सहकार्य गर्न आवश्यक छ । आर्थिक संकटको अवस्था आउन सक्छ यसको समाधान सरकार र व्यवसायीबीच सरसल्लाह गरेर, योजना बनाएर राष्ट्रलाई निरन्तररुपमा आर्थिक स्तर बृद्धि गर्नको लागि लाग्नु आवश्यक छ ।

लक डाउनले प्रायः कम्पनीहरु बन्द हुने अवस्थामा पुगेका छन्, तपाईको सनसाइन ब्रेभेज कम्पनी डक डाउनले कतिको असर पारेको छ ?

– २०५६/०५७ सालतिर मैले कम्पनी सुरु गरे । जनयुद्ध कालमा भन्दा अहिलेको अवस्थामा कम्पनीलाई लक डाउनले जटिल किसिमको समस्या पैदा भएको छ । समस्या सँगसँगै समाधानका बाटोहरु पनि हामीले पैलाउनु पर्छ । समाधानको पाटो भनेको उद्योगी, कामदारहरुलगायत सम्पूर्ण सरकारी निकायहरुले आर्थिक नीति अबलम्बन गरेर आर्थिक नीति सवल बनाउन तिर लाग्नु पर्छ । पानी अति आवश्यक बस्तु भएकोले बगेर खेर गइरहेको अवस्थालाई प्रभावकारीता अपनाएर मापदण्ड बनाई प्रयोगमा ल्याउनु पर्दछ । विदेशमा पनि स्प्रिङ वाटर, हिमालय वाटर पाइन्छ । पानीलाई प्रमुख आर्थिक मेरुदण्डको रुपमा अगाडि बढाउन सक्यो भने हरेक क्षेत्रबाट राष्ट्रलाई आर्थिक रुपमा सवल बनाउन सकिन्छ । पर्यटन क्षेत्र अघि बढाउन पानी अत्यावश्क छ । आन्तरिक वा बाह्य पर्यटकहरुले मिनरल वाटर नै प्रयोग गर्दछन् । यदि पानी नहुने हो भने पर्यटन क्षेत्र लगायत अन्य क्षेत्र धरासायी हुन्छ । पानी विना जीवनको कुनै अस्तित्व नै छैन । यदि यो कारणले (मिनरल वाटर) पानी कारखाना बन्द भयो भने राष्ट्रको सबै क्षेत्रमा असर पर्छ । त्यसकारण सरकारले निगरानी गरेर पानी कम्पनीहरुलाई सहुलियत सुविधाहरु दिन आवश्यक छ ।

किसान काम गर्ने होस्, उद्योगी काम गर्ने होस्, व्यापार गर्ने होस् सरकारी निकाय समेतले पैसा कमाउनका लागि मात्र काम गर्छन् । समाजलाई योगदान दिने किसिमले काम गर्दैनन् भन्ने सोच अहिले पनि यथावत छ ।

कम्पनी संचालनमा समस्या त आएकै होला, स्थानीय सरकारबाट कतिको सहयोग पाउनु भएको छ ?

– नेपालमा जसले समाजमा कर्मको काम गरिरहेका छन् त्यसलाई नराम्रो रुपमा हेरिने गरिन्थ्यो । जस्तै लुगा सिलाउने, जुत्ता बनाउने, औजार बनाउने वर्ग । काम नगरिकन खाने मान्छेलाई समाजले काजीको दर्जाको रुपमा हेर्ने गरिन्थ्यो । अहिले पनि नेपालमा त्यही किसिमका सोचहरु छन् । किसान काम गर्ने होस्, उद्योगी काम गर्ने होस्, व्यापार गर्ने होस् सरकारी निकाय समेतले पैसा कमाउनका लागि मात्र काम गर्छन् । समाजलाई योगदान दिने किसिमले काम गर्दैनन् भन्ने सोच अहिले पनि यथावत छ । हामीले कुनै समस्या लिएर जाँदा तीनै तहका सरकारले कमाउने बर्गको रुपमा मात्र हेरेकोले नेपालमा कुनै पनि व्यवसाय माथि उठ्न नसकेको हो । जबसम्म त्यस्तो सोच हट्दैन नेपालमा कुनै पनि किसिमका उद्योगहरु टिक्न सक्दैन ।

नेपाल बोटल्र्स वाटर उद्योग संघको पूर्व केन्द्रीय अध्यक्ष पनि हुनुहुन्थ्यो, अहिले संरक्षकको हैसियतमा हुनुहुन्छ, उत्पादनलाई बजारमा कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

– नेपालमा पहिले पानी खरिद गरि खाने स्थिति थिएन । शहरीकरणको विकाससँगसँगै नेपालमा पानीको अभाव हुँदा खरिद गरी खानेको संख्या बढ्दै गयो । पानीको आवश्यकतालाई मध्यनजर गर्दै हामीले उद्योग संचालनमा ल्यायौं । हामीले उद्योग संचालन गर्नुअघि उपभोक्ता र उद्योगहरुको मापदण्ड, पानीको क्वालिटीलगायतको विकास भएको थिएन । म नेपाल बोटल्र्स वाटर उद्योग संघको अध्यक्ष भइसकेपछि विभिन्न सरकारी निकायहरुमा पानीको क्वालिटी मेन्टेन, पानीको मापदण्ड निर्धारण, सहज र सरल ढंगले पानी सप्लाई गर्न पाउनु पर्छ भन्दै सम्बन्धित निकायमा कुरा राख्यौं । जमीन मुनीको पानी निकाल्दा जमीन भासिन सक्ने समस्याहरु पनि आउने सक्ने भन्ने कुरा उठ्यो । त्यससँगै हामीले सरकारसँग रिचार्जिङ सिस्टमको डेभलेपमेन्टको व्यवस्था गरिनु पर्छ भनेरे प्रस्ताव राख्याैं । त्यतिबेला उद्योग मन्त्रालय, खानेपानी बोर्ड लगायत निकायमा कुरा राख्दा त्यती ध्यान दिएनन् । बारम्बार झकझकाइ रहेपछि वाटर रिचार्ज सिस्टमको विकास भयो । उद्योग व्यवसाय समाज, उपभोक्ता र सरकारप्रति उत्तरदायि हुनुपर्यो । पानी उद्योगले सबैभन्दा पहिले आफ्ना उपभोक्तालाई शुद्ध पानी पिलाउनुपर्यो । सरकारलाई उद्योगहरुले समयमै कर तिर्नुपर्छ । उद्योग संचालन हुँदा वातावरणलाई असर पर्नसक्छ जतिसक्दो कम असर गर्नेतर्फ उद्योगहरु लाग्न आवश्यक छ । आर्थिक, सामाजिक विकासमा योगदान पुर्याउन उद्योगहरुले सक्छ, त्यस्तोमा उद्योग व्यवसायी संघ लागि रहेको छ ।

जबसम्म देशमा नै युवालाई स्वरोजगार बनाउन सकिन्न तबसम्म समृद्ध नेपाल सुखी नेपालीको कल्पना नै गर्न सक्दैनौ ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ कि ?

– सबैभन्दा पहिला नेपाललाई समृद्ध बनाउन उत्पादन गर्ने वर्ग नै पर्दछन् । किसान, मजदुर, उद्योगी र व्यवसायीको फरक ढाँचा हुन आवश्यक छ । उदाहरणको लागि ऊ एउटा ब्यापारी छ भने उसले विभिन्न देशसँग सम्पर्क राखि काम गर्न सक्छ । राज्यसँग लिएको ऋण जसरी भएपनि तिर्छ । किसान, मजदुर र उद्योग व्यापारी जस्तो होइन, उनीहरुले यहीं उत्पादन र उब्जनी गर्नुपर्छ । सरकारले किसान, उद्योग र ब्यापारीलाई एउटै दृष्टिकोणबाट हेर्न मिल्दैन । उद्योगमा पनि घरेलु उद्योग, साना उद्योग, मझौला उद्योग, ठूला उद्योग, अन्तर्राष्ट्रिय स्तर र बहुर्राष्ट्रिय उद्योग छन् । तिनीहरुलाई सहुलियत, सुविधा र अबसर बराबर दियो भने सबै साना उद्योगहरु पनि निरन्तर संचालनमा आउन सक्छन् । यदि कुनै उद्योग २० वर्ष देखि संचालनमा छ । भर्खरै कुनै युवाले घरेलु उद्योग संचालन गर्न खोज्यो भने ठूला, साना, पूराना र नयाँको अन्तर भयो भने उसले काम गर्न सक्दैन । नेपालमा बहुर्राष्ट्रिय उद्योगसँग घरेलु उद्योग र साना उद्योगलाई जोड्नु पर्यो । जसले गर्दा रोजगारको अबसर सिर्जना हुन सक्छ । सरकारले कुनै पनि एउटै उद्योगीलाई सबै सामान उत्पादन गर्न दिन हुँदैन । जस्तै चाउचाउको लागि धेरै सामानको आवश्यक पर्छ । प्लाष्टिक एउटा कम्पनीले बनाउने, पीठो अर्को कम्पनीले बनाउने, मसला अर्को कम्पनीले बनाउने, चाउचाउ अर्को कम्पनीले बनाउने त्यस्तो व्यवस्था गर्दा कम्पनीहरु पनि धरै हुन्छ । हजारौंले रोजगार पनि पाउँछन् । सरकारले अबका दिनमा यस्तो नीति बनाउनु जरुरी छ । यदी कुनै व्यक्ति वा कम्पनी एकलाई मात्र सहुलीयत दिंदा एकमात्र माथि पुग्छ अन्य उठ्न सक्दैन र भएका कम्पनीहरु विस्थापित हुँदै जान्छन् । यस्तो नीति र व्यवस्थाले गर्दा हिजोका पूँजीपतिहरु पूँजीपति भइरहे, गरिबहरु गरिब नै भइरहे । सहुलितय साना, मझौला तथा घरेलु उद्योगहरुलाई दिंदा आर्थिक रुपमा उ सबल हुन सक्छ । एउटै डालोमा राख्दा ठूला माछाले सानो माछालाई खाएजस्तै साना उद्योगहरु बन्द हुन पुग्छन् । यही कारणले गर्दा सक्षम युवाहरु आफ्नो सम्पत्ती धितो राखेर विदेशीन बाध्य छन् । बेरोजगार संख्या घटाउन बैज्ञानिक नीति अपनाउन आवश्यक छ । रेमिट्यान्सको भरमा देश चलाउने सोचले राष्ट्र सधै धरापमा पर्ने हो । जबसम्म देशमा नै युवालाई स्वरोजगार बनाउन सकिन्न तबसम्म समृद्ध नेपाल सुखी नेपालीको कल्पना नै गर्न सक्दैनौ । सरकारले जनतालाई यहाँ काम गर्ने वातावरण बनाइ दिनुपर्यो । विदेशमा कोही चिनेका छैनौ, त्यहाँ काम गर्न सक्ने अनि यहाँ सबै चिज छ तर पनि काम गर्न नसक्ने किन ? त्यहाँ गएर बाँच्न सक्ने, त्यहाँको कमाईबाट यहाँको परिवार पाल्नु पर्ने, समस्या छ नि । यो समस्याको समाधान नभएसम्म नेपालमा आर्थिक उन्नती पनि हुँदैन । तिनै तहका सरकारले किसान र उद्योगी सित सहकार्य गरी काम गर्नुपर्छ भन्ने सोचको विकास गर्न जरुरी छ ।

Related posts

‘चन्द्रागिरिमा रहेका इँट्टाभट्टाका कारण ६ महिना बाँचिन्छ कि बाँचिदैन ?’

Aarsha Khabar

लिम्पियाधुरा नेपालकै हो, दर्जनौ प्रमाण छ

Aarsha Khabar

राजनीति भन्दा माथि मानवीयता

Aarsha Khabar