आर्ष खबर

विचार

काठमाडौंलाई कालापानी किन दुख्दैन ?

प्रेमसिंह धामीको सम्झनामा                                                   

प्रेमसिंह धामीको निधन भएको २३ वर्ष (जन्म : २००९।०५।२९ : मृत्यु २०५४।०५।२७) भइसकेको छ । यस बीचमा महाकालीमा धैरै पानी बगिसकेको छ । उहाँले उठाएका लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्धाले निकास पाउनुको सट्टा अतिक्रमणको गति अझ बढ्ने क्रममा छ । लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो नक्सामा समावेश गर्नुको साथै लिपुलेकसम्मको सडक उद्घाटन गरेको घटना सार्वजनिक भएपछि समग्र नेपाली समाज तरङ्गित र आक्रोशित भइ यसबारे अनेक क्रिया-प्रतिक्रिया आउने क्रममा २०७७ साल बैशाख ३० गते लोकान्तर डट्कममा लेखकको प्रकाशित “नेपाल-भारत सन्धिको ‘चीरफार : लिम्पियाधुरा पुगेको त्यो पहिलो र अन्तिम उच्चस्तरीय टोली” ! नामक लेख  प्रकाशित भयो । सोही मितिमा नेपालपत्र डट्कम र एप्पल खबर डट्कममा “महाकाली नदी साझा हो ! पानी आधा-आधा हो !!” हो नामक लेख प्रकाशित भए । उक्त लेखहरुमा महाकाली नदी सीमा नदी भएको, महाकाली नदी  (कालीनदी) पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका सबै भू–भागहरु नेपालको भएको ऐतिहासिक तथ्यसहित भारतबाट अतिक्रमित लिम्पियाधुरा क्षेत्रको “संसदीय अनुगमन संयुक्त समिति” ले स्थलगत अध्ययन भ्रमण गरी सो क्षेत्रमा भारतले नेपाली भूमि अतिक्रण गरेको समितिको ठहर भएको तथ्य उल्लेख भएको थियो ।

२०७७ साल जेष्ठ २ गते संघीय संसदको संयुक्त बैठकमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा प्रस्तुत नेपाल सरकारको आ.व २०७७।२०७८ को वार्षीक नीति तथा कार्यक्रमको बुँदा नं.२६९ मा “नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र संरक्षण गर्न प्रतिवद्ध छ । अन्तर्राष्ट्रिय सीमा निरिक्षणको कार्यलाई निरन्तरता दिइने छ । ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कुटनीतिक माध्यायमबाट मित्रराष्ट्र भारतसँगको सीमा सन्बन्धमा विगत लामो समय देखि बाँकी रहेका र समय-समयमा उठिरहेका विषयहरुको समाधान गरिने छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाइ प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने छ । तदनुरुप नै छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ ।” भन्ने ऐतिहासिक घोषणा भयो ।

ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कुटनीतिक माध्यायमबाट सीमा सन्बन्धमा विगत लामो समय देखि बाँकी रहेका र समय-समयमा उठिरहेका विषयहरुको समाधान गरिने छ ।

यो ऐतिहासिक घोषणा पश्चात समग्र नेपाली समाज उत्साहित र तरङ्गित हुन पुग्यो । यसको पक्षमा संसद, सडक, समग्र मिडियाजगत र सामाजिक संजालमा अनेक प्रकारका क्रिया-प्रतिक्रियाहरुको बाढी नै आयो । यसै सिलसिलामा २०७७ साल जेष्ठ ४ गते नेपालपत्र डट्कम, एप्पलखवर डट्कम र कदर न्यूज डट्कममा “सीमा अतिक्रमण : लिम्पियाधुरा, कालापानी र लिपुलेक” नामक प्रकाशित लेखमा ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणको आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र ऐतिहासिक तथ्यका आधारमा लिम्पियाधुरा क्षेत्रको हाते नक्सा समेत सार्वजनिक गरी कुटी, नावी र गुञ्जीसहित लिम्पियाधुरा क्षेत्रको ३३५ वर्ग कि.मी र कालापानी क्षेत्रको ६२ वर्ग कि.मी नेपालको भूमि भएको उल्लेख थियो । २०७७ साल जेष्ठ ५ गते मन्त्रिपरिषदबाट नेपालको नक्सा जारी गर्ने निर्णय भए बमोजिम २०७७ साल जेष्ठ ७ गते सार्वजनिक भएको नेपालको नक्सा २०७७ साल जेष्ठ ४ गते नेपालपत्र डट्कम लगायतका सञ्चार माध्याममा प्रकाशित लेखमा उल्लेखित तथ्य र प्रमाणलाई आधारमानी कुटी, नावी र गुञ्जीसहित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको नेपालको नक्सा सार्वजनिक भएकोमा म अत्यन्त हर्षिद र उत्साहित भएको छु ।

यी माथिका घटनाक्रमहरुलाई हेर्दा लिम्पियाधुरा, लिपुलेक र कालापानीमाथि भएको भारतको अतिक्रमण छोटो अवधिमा घटित घटना जस्तो लाग्छ, तर वास्तविकता त्यस्तो होइन । सन् १९६२ मा भारत चीन युद्ध भएको समय देखि भारतले सो क्षेत्रमा अनधिकृत रुपले नेपालको भूमि अतिक्रमण गरेको घटनाहरुको अन्तिम दृष्य चित्र हो ।

वर्षौ देखि भारतले अतिक्रमण गरी अनधिकृत रुपले कव्जा गरी राखेको “लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने छ । तदनुरुप नै छुटेको भूमिसमेत समाबेश गरी नेपालको नक्सा जारी गरिने छ ।” भन्ने ऐतिहासिक घोषणासहित नेपालको नक्सा सार्वजनिक भएको यस ऐतिहासिक घडिमा मेरो मानस पटलमा स्वर्गीय प्रेमसिंह धामीको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भएको भारतीय अतिक्रमण विरुद्धको सशक्त आवाज गुञ्जिरहेको छ ।

प्रेमसिंह धामीले स्थापित गरेको राष्ट्रिय मुद्दालाई समग्र राष्ट्रले आत्मसात गर्नु उहाँप्रतिको उच्च सम्मान हो ।

२०४८ सालमा नेकपा (एमाले) को तर्फबाट राष्ट्रिय सभा सदस्य र २०४९ साल देखि नेकपा (एमाले) को केन्द्रीय सदस्यको रुपमा कार्यरत रहदा स्वर्गीय प्रेमसिंह धामीलाई बुझ्ने र सहकार्य गर्ने अवसर प्राप्त भएको थियो । प्रेमसिंह धामी नीडर, प्रखर वक्ता, सशक्त लेखक एवं देशभक्त व्यक्तित्व हुनु हुन्थ्यो । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भएको भारतीय अतिक्रमणको हरतहले प्रतिवाद गर्दै प्रेमसिंह धामीले यसलाइ राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्न अथक संघर्ष गर्नुभयो । २०५४ साल भाद्र २६ गते जनआस्था पत्रीकामा “काठमाडौंलाई कालापानी किन दु:ख्दैन ?” नामक विचारोत्येचक लेख प्रकाशित भएको भोलीपल्ट २०५४ साल भाद्र २७ गते नुवाकोट जिल्लाको मदानपुरस्थित केउरिनी भीरमा भएको अकल्पनीय जीप दुर्घटनामा परी देश भक्तिपूर्ण लडाइका सशक्त हस्ति प्रेमसिंह धामीको ४५ वर्षको अल्पायुमा असामयिक दु:खद निधन भयो । यो देश र जनताको लागी अपुरणीय क्षति थियो ।

स्वर्गीय धामीले स्थापित गरेको राष्ट्रिय मुद्दालाई समग्र राष्ट्रले आत्मसात गर्नु उहाँप्रतिको उच्च सम्मान हो । यो मुद्दालाई सार्थक निष्कर्षमा पुर्याइ अतिक्रमित भूमिलाई फिर्ता गर्नु नै स्वर्गीय प्रेमसिंह धामी प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । राष्ट्रवादी नेता प्रेमसिंह धामीको स्मृतिलाई चिरस्थायी बनाउन सरकारले आवश्यक कदम चाल्ने बेला भएन र ?  यस सम्बन्धमा अविलम्व आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछु ।

Related posts

पूर्वमाओवादीको ‘सघन आत्महत्या’ कि ‘महान समर्पण’

Aarsha Khabar

योद्धा र आन्दोलनको अवसान

Aarsha Khabar

राष्ट्रिय संकट भित्र हुर्किएका हामी

Aarsha Khabar