आर्ष खबर

खेलकुद चन्द्रागिरि

खेल क्षेत्रलाई नगरपालिकाले कसरी हेर्ने ?

गत मंसिरमा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले पाएको ऐतिहासिक सफलतापछि धेरैको अपेक्षा थियो आर्थिक वर्ष २०७७/०७८ मा खेल क्षेत्रले राम्रो स्थान पाउनेछ । तर विश्व व्यापी माहामारी कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न परिस्थितिले खेलकुद बजेट कम प्राथमिकतामा पर्यो ।

अघिल्लो वर्ष खेलकुदमा ३ अर्ब ९९ करोड बिनियोजित गरेको सरकारले यस वर्ष त्यसमा व्यापक कटौती गरेर २ अर्ब ३६ करोड रुपैयाँमा झारेको छ । जसकारण प्रदेश र स्थानीय तहमा पनि प्राथमिकता पाउन कठिन देखिएको छ । तीनै तहका सरकारको पहिलो प्राथमिकतामा स्वास्थ्य, कृषि, रोजगार, आपूर्ति र शिक्षा नै रहेको देखिन्छ । जसका कारण यस वर्ष हुने तय भएका थुप्रै प्रतियोगिता अनिश्चित भएका छन् ।

संघ, प्रदेश र स्थानीय तहको संयोजनमा खेल पूर्वाधारको निर्माण प्रतियोगिताको आयोजना र प्रशिक्षणका कार्यक्रम गरिने बजेटमा बताईएको छ । त्यस्तै, सरकारले हरेक स्थानीय तहमा खेलग्राम बनाउने कार्यक्रमलाई यस पटक पनि निरन्तरता दिएको छ। तर, जुन आकारको बजेट आएको छ त्यसले लक्ष्य प्राप्तिमा कतिको सहायकसिद्ध हुनेछ त्यो हेर्न बाँकी छ ।

युवा तथा खेलकुद मन्त्रालयले सात वटै प्रदेशका निम्ति ३७ करोड ४६ लाख तथा ७५३ स्थानीय तहलाई १५ करोड १९ लाख रकम छुट्याइएको जनाएको छ। त्यस्तै, पूर्वाधारमा मात्र खर्च गर्ने शीर्षकमा प्रदेशलाई ५५ लाख र गाउँ तथा नगरपालिकाका लागि ९० लाख उपलब्ध हुने जनाएको छ ।

यसले स्थानीयस्तरमा केही खेल पूर्वाधारमा योगदान पुग्नेमा विश्वास गर्ने ठाउँ पनि दिएको छ । तर, केन्द्रको बजेटमात्र पर्याप्त नहुने हुनाले प्रदेश र स्थानीय तहले पनि खेलकुदमा हातेमालो गर्न आवश्यक रहेको मन्त्रालयको भनाई छ । बजेटमा संघीय सरकारले भनेको छ, खेलकुदमा अनुशासन संस्कृतिको विकास, शारीरिक तन्दुरुस्ती तथा मानसिक विकास एवम् खेलकुदमार्फत् मुलुकको पहिचान र प्रतिष्ठाका लागि खेलकुद क्षेत्रको समग्र विकास अघि बढाउन संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा खेलकुदको पूर्वाधार विकास, प्रतियोगिताको आयोजना, प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ। तर विगतमा जस्तै केन्द्रबाट छुट्याइने बजेट र प्रदेश र स्थानीय तहको बजेट विनियोजनमा समन्वय नहुँदा समस्या देखिने सम्भावना पनि नकार्न सकिन्न । त्यसैले यसतर्फ भने सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

१३औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले कुल २०६ पदक जित्दा चन्द्रागिरि नगरका केही खेलाडी पनि यसको हिस्सेदार बन्न पुगे । जुन समग्र नगरकै लागि गर्विलो पक्ष पनि हो । यस नगरका बान्सिदाका रुपमा रहेका थुप्रै खेलाडी तथा प्रशिक्षक हाल विभिन्न खेलमार्फत् देशको प्रतिनिधित्व गरिरहेका छन् । विगतदेखी नै यस क्षेत्रले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पाउँदै आएको छ । ति खेलकर्मीको योगदान र अनुभवलाई समग्र नगरको खेल विकासमा लगाउन सकिए त्यो देशकै लागि फलदायी हुने पक्का छ । नगर भित्र रहेका खेल पूर्वाधारको विकास र व्यवस्थापनमा पनि स्थानीय सरकारको ध्यान जान आवश्यक छ । त्यस्तै, स्थानीय क्लबहरुसँग यसमा समन्वय गर्दै स्थानीयलाई अपन्वत्व महशुस गराउनु आवश्यक देखिन्छ ।

हाल चन्द्रगिरि भित्रबाट मार्सलआर्टका विभिन्न खेल र भलिबल लगायतबाट राष्टि«य स्तरमा अब्बल खेलकर्मीहरुले सहभागीता जनाईरहेका छन् । गत वर्ष नै ललितपुर महानगरको आयोजनामा भएको महानगर कप राष्टि«य महिला तथा पुरुष भलिबलमा चन्द्रागिरिको महिला टोलीले आयोजक ललितपुरलाई हराउँदै उपाधि जित्यो । यस्तोमा अब नगरले पनि सबै खेलको बृहत्त विकासका साथै सम्भावित केही खेलहरुलाई विशेष ध्यानमा राखि प्राथमिकतामा राख्नु पर्ने आवश्यकता देखिन्छ । त्यस्तै यस नगरभित्र आयोजना हुँदै आएका सबै खाले प्रतियोगिताको निरन्तरता र व्यवस्थापन अर्को महत्वपूर्ण पाटो हो । विगतमा सबै क्षेत्रको लागि बजेट विनियोजन गर्ने तर बजेट अभावमा ति संरचना निर्माणले पूर्णता नपाउने गरेको थुप्रै उदाहरण छन् । त्यसैले चन्द्रागिरि सीमा भित्र रहेका कुनै पनि खेल मैदान वा खेल स्थलको पहिचान गरी तिनको उचित व्यवस्थापन गर्नु आजको आवश्यकता बनिसकेको छ । त्यसपनि प्राथमिकताको आधारमा योजनाबद्ध रुपमा कुनै खेल स्थलको विकास र संरक्षण गर्नु आवश्यक छ । यसका लागि नगरले सम्बन्धित सबै पक्षसँग छलफल गर्दै प्राथमिकता तय गर्दै योजना बनाउन ढिला गर्नु हुँदैन ।

त्यस्तै, विभिन्न खेल संघहरुले नगर भित्र आफ्ना पूर्वाधार निर्माणमा इच्छा देखाई रहेको अवस्थामा ति संघहरुसँग समन्वय गर्दै विभिन्न योजना भित्र्याउन सकेको खण्डमा नगरबासीलाई खेल क्षेत्रमा आकर्षित गर्नुका सार्थै व्यवसायिक लाभ पनि हासिल गर्न सकिन्छ । चारै तिरबाट पहाडले घेरिएको सानो उपत्यकाका रुपमा समेत रहेको चन्द्रागिरि पर्वतीय साईक्लिङ दौड जस्ता खेलका लागि पनि सुहाउँदो भौगोगिता अवस्था भएको स्थान हो । त्यस तर्फपनि सरोकारवाला निकायले ध्यान दिनु आवश्यक देखिन्छ । राजधानीका विभिन्न अग्ला पहाड मध्ये एक चन्द्रागिरिको शिरमा प्रशिक्षण स्थलका रुपमा पनि विकास गर्न सकिन्छ । किनकी आज कर्णालीमा उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापनाको योजना जसरी बनिरहेको छ । राजधानीसँगै जोडिएको र सहज पहुँचका दृष्टिकोणले पनि यो तालिम केन्द्र धेरै खेलकर्मीको रोजाईमा पर्ने निश्चित छ । यसले खेलसँगै नगरको पर्यटन विकासमा पनि टेवा पुर्याउने कुरामा दुई मत छैन् ।

जसरी आज खुल्ला स्थानको माग बढिरहेको छ त्यसका लागि पनि खेल स्थलको विकास अपरिहार्य छ । खेल स्थल खेल्नमात्र भन्दा पनि विभिन्न प्राकृतिक विपत्तीमा आश्रय स्थलका रुपमा पनि रहँदै आएको छ । वर्तमान समयमा देशैभरीका खेल क्षेत्रका विभिन्न भौतिक पूर्वाधार क्यारेन्टिनकारुपमा प्रयोग भईरहेको छ । त्यसैले खेल क्षेत्रलाई केबल मनोरञ्जनको क्षेत्र हेर्न संर्किण मानसिकता त्याग्नु ढिला भईसकेको छ । खेल राष्टि«यता, स्वास्थ जीवन यापन, व्यवसायसँग पनि जोडिएको महत्वपूर्ण पक्ष हो । त्यसैले नगरबासीको स्वस्थ जीवनयापनका लागि पनि खेल क्षेत्रमा नगरको विशेष ध्यान पुग्नु जरुरी छ । जसरी विकासमा अन्य पक्षको महत्व छ । त्यसरी नै खेलकुद क्षेत्रले नागरिकको शारिरीक, मानसिक स्वास्थ्य र अनुशाशित जीवनशैली बनाई राख्न महत्वपूर्ण भूमिका निभाएको छ ।

तर जसरी यो क्षेत्र उपेक्षामा पारिएको छ त्यसले भने नीति निर्माताहरुमा खेल क्षेत्रप्रतिको अज्ञानता वा गैर प्राथमिकतामा परेको खेलकर्मीहरुले महशुस गरिरहेका छन् । त्यसैले संघ, प्रदेश र स्थानीय तहले खेलकुद क्षेत्र आत्मनिर्भर हुने गरी बजेट छुट्याउनु अति आवश्यक देखिएको छ ।

Related posts

आर्ष नेपालको खबर प्रभाव, चन्द्रागिरिका क्वारेन्टाइन व्यवस्थित रुपमा संचालन

Aarsha Khabar

चन्द्रागिरि सातमा जेष्ठ नागरिकको सम्मान

Aarsha Khabar

साफ च्याम्पियनसिपः सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्ने

Aarsha Khabar