आर्ष खबर

साहित्य

दुई कविका तीन-तीन कविता

कविता लेखन फगत मानसिक तुष्टिको साधन  होइन ।

कविता लेखन उत्तरोत्तर चेतना निर्माण , विचार स्थापना र संवेदना प्रशारणको कठिन कर्म पनि हो ।

कविता हामी बाँचिरहेको समयको गतिशील चिन्तन हुनाले आजको कविताको रचना प्रक्रिया र कविता लेखिरहेका कविहरुको मनोविज्ञानलाई कालगत सन्दर्भको विषयमा समेत बुझ्नु आवश्यक हुन्छ ।

नित्य निरन्तर आइरहेको कविताको बाढीमा कुन कविताले कस्तो विचारको गर्जन बोकेर ल्याएको छ ?
कुन कविले नवीनताको कस्तो प्रवाह सिर्जना गरिरहेको छ ? छाम्नु , हेर्नू र बुझ्नुपर्ने भएको छ ।

कविताको निर्वाचन राजनीतिक निर्वाचन जस्तो संसदीय – पूँजीवादी या समाजवादी प्रणालीको आवधिक निर्वाचन हुँदैन ।

कविताको निर्वाचन / चुनाव आजको वैश्विक अर्थव्यवस्था–मानवीय मूल्य माथिको दमन – उत्पीडन – सांस्कृतिक विचलन – छुवाछुत–निषेध – मानव सभ्यतामाथिको नियोजित प्रहार र योजनाहरुलाई निष्तेज पार्ने प्रयत्नमा रचिएका कविताका मर्महरुमा पसेर गर्नुपर्ने हुन्छ ।

अहिले बजारमा अपवादलाई छोडेर सस्ता कविताहरुको नग्न प्रदर्शन हावी छ । आविष्कार – अध्ययन  र साधनाको अभावमा आजको कविता  कस्मेटिक हुँदै गएको छ । पुनरावृतिहरुको फोटो कपि बन्दै गएको छ ।

मान्छेलाई दास सम्झने व्यवस्था , समाजलाई विविधतासहित नस्वीकार्ने राजनीति , पैसाको बलमा जे पनि गर्ने नेता र यी सबै दृश्यहरु टुलुटुलु हेरिरहने लोकतन्त्रमा कविताको चुनाव पक्कै कठिन कार्य हो । त्यो भन्दा बढी कठिन कार्य हो – कवितामा सम्पूर्ण मूल्य विघटनको साक्षी बक्नु !

यद्यपि , केही त्यस्ता कविहरु छन् – जो प्रेमलाई प्रेमकै उच्चतामा लेखिरहेका छन् । जीवन र जगतको सत्यतालाई त्यस्तै निर्दोषीतामा लेखिरहेका छन् । मान्छेका सुख – दुःखहरुलाई त्यस्तै दैनिकीमा लेखिरहेका छन् । कुरुप राजनीतिको तस्वीर हुबहु उतारी रहेका छन् ।

छन् – थोरै त्यस्ता कविहरु छन् !

त्यस्तै थोरै कविहरु मध्ये अनुहारको भीडमा कविता लेखिरहेका जनक कार्कीभष्मासुरको देशमा कविता लेखिरहेका वाक्सेली थापालाई शनिबार कविता विशेषमा चुनेका छौं !
प्रस्तुत छ आजका प्रभावशाली दुई कविका तीन-तीन कविता :

वाक्सेली थापा

सत्ता

लगातार गुञ्जिरही ऊ –
चोर औँलोले आकाश छेडेर
खलाँतीले रापिएको ध्वनिमा ।

मलाई किमार्थ स्वीकार छैन
यो दुर्गन्धित सत्ता
जो गाडिरहेछ दिनहुँ
दमनको बर्बर भाला
आधा धर्तीलाई उत्तानो पारेर ।

एन्ड्री डोरकिनको के कुरा
सिमन दि बुआ
वा अमृता प्रितमभन्दा पहिल्यै
राम्ररी थाहा थियो मलाई कि –
योनीको आँखीझ्याल नटालेसम्म
यसैमा टेकेर सत्तारोहण गर्नेछ
कुनै पाँच इन्चको लिलिपुट महाराज
जीवनभर कालो छाँया ओढाउन ।

त्यसैले त उहिल्यै
कोखलाई जरैदेखि उखलेर फालेँ
र, निरीह नभई टिकिरहेछु
परै हटेर आजसम्म
घुन लागेर छिद्रा छिद्रा परेको
सत्ताको कलुषित गन्धबाट ।

मेरी आमाले कहिल्यै
‘आत्था पोल्यो’ नभनी
पूरै जीवन नुहाएको असहिष्णु तातो झरी
एक छिन रोकिदाँ उदाउने इन्द्रेनी
मलाई यति कुरुप लाग्यो कि
अचेल निर्माण गरिरहेछु
एउटा छुट्टै इन्द्रेनी
अस्तित्वमा नभएका रङ्गहरू बटुलेर ।

यतिबेला
उन्मुक्त समयको भेलमा
पौडिरहेछु निर्भिक र निर्भय
छैन म, पटक्कै छैन कसैको कब्जामा
यी हेर साथी नपत्याए –
छातीमा चट्याङ उमार्दै हठात
दराजको भित्री कुनाबाट
निकाली र देखाई उसले
लेटेस्ट मोडेलको एउटा सेक्स टोय
जो थियो बलिष्ठ पुरुष आकृतिमा
तर खै किन हो थर थर कामिरहेको !

OOO

लुकामारी र गान्धारी समय

हामी सिर्फ हेरिरहेछौँ
कुनै प्रतिक्रियाहीन ।

सडक पेटीमा जब
खिया परेका दाँत देखाउँदै
बेफिक्री ‘ड्यूटी’ गरिरहेछ सरकार
बिजुलीको पोलमा छलिएर
हबल्दारी पारामा,
ठीक त्यही समय बीच सडकमा
बेसरम नाचिरहेको छ गैरसरकार
उभिएर त्यही जाममा
हामी हेरिरहेछौँ
कुनै अचम्म नमानी ।

गैरसरकार –
अखाद्य खितखिताइरहेछ
खाद्य गोदामको बोराभित्र
डेट एक्सपायर्ड उग्राइरहेछ
मेडिकल दोकानको कार्टुनमा
मिसावट मगमगाइरहेछ
इन्धनको सर्टिफाइड ट्याङ्कमा
र, गुणस्तरहीन मुस्कुराइरहेछ
भर्खरै निर्माण स्वीकृत भएको सडकमा
जतिबेला सरकार –
मञ्चन गरिरहेछ एकाङ्की अनुगमन
यसरी कि गैरसरकार पूर्व छलिँदा
घुमिरहेछ पश्चिममा फनफन
बेसरोकार हेरिरहेछौँ हामी
फुर्सदको अग्लो बार्दलीमा बसेर ।

अदालतको मूलगेटमा
न्याय–तराजुको चाबी हातैमा देखाएर
झगडियालाई स्वागत गरिरहेछ गैरसरकार
जबकि सरकार –
अग्लो इजलासमा बसेर
निधार खुम्च्याउँदै घोप्टिएर
पावरवाल चस्माको माथिल्लो छेउबाट
चिहाइरहेछ न्यायिक मन
र, खोजी खोजी तौलिरहेछ
मिसिलमा उल्लेख नभएको प्रमाणको भार
त्यही खुला इजलासमा बसेर
दृश्यगमन गरिरहेछौँ हामी ।

औँठा छाप देखिने डरले
चलाखीपूर्वक लगाएर बहुराष्ट्रिय पञ्जा
गैरसरकार घुसारिरहेछ हात
कुमारी गाउँका निश्कलङ्क छातीहरूमा
तर सरकार –
जो खासमा आफैँ शासित छ गैरसरकारबाट
पारदर्शी पट्टी बाँधेर आँखामा
समातिरहेछ सेतो छडी
हामी हेरिरहेछौँ प्रतिक्रियाहीन ।

उहिले उहिले केटाकेटीमा
खेलिन्थ्यो खेल लुकामारीको
अहिले जिन्दगीका केस्राहरू
उप्किँदै जाँदा एक–एक
देखिँदैछ लुकामारी थरिथरिका
जस्तो कि –
सपनाहरू बाहिरिन्छन् हात हल्लाउँदै
अन्तर्राष्ट्रिय एअरपोर्टमा
र, चुपचाप भित्रिन्छन् लुकेर बाकसमा
गैरसरकार –
अझै खाल थापेर बाँडिरहेछ मुरीकामुरी
गहिरिँदै गएको खाडी सपना
फेर्नलाई सुनको धुरी
जबकि सरकार बसेको छ
बेसरम पर्दा लगाएर आँखामा
खुल्लमखुल्ला हेरिरहेछौं हामी
सिर्फ हेरिरहेछौं प्रतिक्रियाहीन
नयाँ नयाँ संस्करण लुकामारीको
र, बाँचिरहेछौं गान्धारी समय ।

OOO

हतियारको हरक

मित्र मलाई थाहा छ कि
तपाईं उत्सुक हुनुहुन्छ
उसको नाम सुन्न !

टुँडीखेलमा प्रदर्शन गरेर बेला-बेला
कोतगार्ड मै खिया परेको हतियारको फोटो
त्यही फोटोबाट छुटिरहेको –
शक्तिको दुर्गन्धित हरक सुघेँर
मातिरहन्छ सधैँ अर्धचेत
र, अँध्यारो तन्द्रामा ढल्केर
माटोको गर्भमा नौ महिना नपुगेको
भ्रूणको नाइटोभित्र
व्यवस्थाको सिरिञ्च घोचेर
जो तनतनी तानिरहन्छ रगत ।

खै कति मन परेको हो उसलाई
रगतको कलिलो बासना
जसको नाम सुन्न
उत्सुक हुनुहुन्छ तपाईं !

ओडारको डिलमा बसेर
ग्याष्ट्रिकको अमिलो डकारले
हुरहुर्ती फुक्दाफुक्दै
सहनशीलताको चिसो अगेनो
सहनै नसक्ने भएपछि म
छेवैको भित्ता उप्काएर
कर्यािम कर्या म चपाउँछु जब
ढुङ्गाको पहिलो गाँस
ठीक त्यतिबेला हेर्छ जो
यस्तो हरामी पाराले मलाई
र, आँखाबाट निकाल्छ
शङ्काको कलुषित पँहेलो ज्वाला
मानौँ कि –
उसकै छातीमा ठोकिरहेछु म
मेसिन–गन ड्याम् ड्याम्
र, हतार हतार टोली गठन गर्छ
मैले ढुङ्गा चपाएको आवाज
गम्भीर छानबिन गर्न ।

जीवनको कुनै अर्को किनारमा
डढिरहेको हुन्छ जब
अनिकालले मरेको लास
धूँवा देखेर आकाशतिर
सायद ठान्दो हो ऊ
बिद्रोहको राँके जुलुस
र, खोलासम्मै पठाउँछ जो
जल्लादको कमाण्डमा
सुराकहरूको शङ्कालु गस्ती ।

लास हेरेर टुलुटुलु
त्यत्तिकै कहाँ फर्कन्छ र
मालिकको आदेशले मातिएको
सुराकहरूको गस्ती ?
असुल्छ जबरजस्त
चिताले ओगटेको बगरको कूत
जल्लादहरू मार्फत यसरी नै
र, ऊ देखादेखी बितरण गर्छ उठौती
सिन्डीकेटका मठाधीशहरूलाई सगर्व
जो खास्सा ठेकेदार हुन्
यो जमिन र जनसङ्ख्याको
जो असली भोगकर्ता हुन्
सम्प्रभू र सत्ताको ।

हजुर !
मलाई थाहा छ
कि हतारमा हुनुहुन्छ
उसको नाम जान्न
र त मलाई दुःख लाग्छ
कि दुनियाँले नचिन्ने भए पनि
तपाईंलाई एउटा नाम दियो जसले
तर अझैसम्म,
उसैको नाम थाहा छैन तपाईंलाई ।

लौ सुँघ्नुस् !
यहीँसम्म आइरहेछ अझै
हतियारको अमिलो हरक
कोतगार्डको अँध्यारो कुनाबाट
तै पनि ठिकै छ !
नाक थुनेर आउनुस्
अलि एता एकान्तमा आउनुस्
कसैलाई खबर नगर्ने सर्तमा
मुटु खँदिलो पारेर आज
तपाईंलाई सुटुक्क बताइदिन्छु म
तिथि थाहा नभएको न्वारानमा
पूर्खाहरूले राखिदिएको –
उसको नाम राज्य हो
जोसँग छन्
काला अक्षरहरूले बनेका
फगत देखाउन पङ्क्तिबद्ध
असङ्ख्य कल्याणकारी दाँतहरू
र, जोसँग छन् खासमा चपाउन
धारिला धारिला दमनकारी दाँतहरू ।

OOO

जनक कार्की

गल्ली

मानव समृद्धिको
ठूला-ठूला भवनको पर्खालभित्र
शहरीकरणको नजरबन्दमा निस्सासिएर बाँचिरहेको गल्ली
एउटा अप्रकाशित कथाभित्र जीवन खोजिरहेको छ ।

सार्वजनिक चोकको ठीक पछाडिपट्टि
गल्लीको ठेगानासम्म पुग्दैनन् हुलाकीहरू

यो गल्लीभित्र–
लावारिस प्रमाणहरू अस्तव्यस्त भएर फिजाइएका छन्
गुप्तचर अनविज्ञ बनिदिए जस्तो ।

गल्लीको कुनामा–
एउटा गाँठो पारेको ताजा वीर्यसहितको अस्थायी साधन छ
अङ्कुरित हुन नपाएको आधुनिक गणतन्त्रजस्तो–

यो गल्लीका भित्ताहरू रङ्गाइएका छन्
गोलीको कुचीमा लालीगुराँसको रातो रङ निचोरेर।

त्रिभुज आकारको कुनामा–
बलात्कारको हेडलाइनमाथि कुनै पोर्नस्टारको स्क्र्याच सिडीले च्यापिरहेको
एउटा अखबार छ ।

पिसाब गर्न मनाही छ को सूचनामा
पिसाबकै एसिडले ‘मनाही छ’ शब्दको रङ उडिसकेको छ।

गल्लीभित्रै छ देशको मानचित्र
दुइतिरबाट धमिराले चपाएर छोडेको ।

भेटिकन सिटीबाट आएको मनि अर्डरको अर्धकट्टी सुतिरहेको छ।

अस्पष्ट देखिने अशोक स्तम्भको चिन्ह अङ्कित खामको एक टुक्रालाई
फिरफिर फिरफिर हावाले हल्लाइरहेको छ।

यो गल्ली
प्रतिष्ठित सहरभित्र
एउटा अञ्जान शरणार्थीको परिचयपत्र झुण्डाएर बाँचिरहेको छ।

गल्लीको खबर लेख्ने
अखबारमा मसीको अभाव छ
गल्लीको फोटो खिच्ने क्यामरामा
मेमोरी फुल छ।

वर्तमानको चश्माले नदेखेको यो गल्ली
सायद शताब्दीपछि पहिचानमा आउला।

गल्लीमा आउलान् इतिहासविद्

घोषणा गर्लान् नयाँ रहस्यमयी इतिहासको
पुरातत्वविद्ले उत्खनन गर्लान् नयाँ एन्टिक वस्तुको

– धेरै संभावना छन् ।

एउटा डरलाग्दो सम्भावनापूर्व सचेत रहौँ
र / चिनौँ –
स्वतन्त्रता र सार्वभौमसत्ताका दुस्मनहरूलाई
यो गल्ली कुनै
छिमेकीको घरको कम्पाउन्डभित्र नपारियोस् ।

OOO

पत्थर

दुश्मनले पत्थरमा हतियार लेखे
दाजुभाइले पत्थरमा पर्खाल लेखे
माटोले पत्थरमा पहाड लेखे
खोलाले पत्थरमा बगर लेखे
हिउँले पत्थरमा हिमाल लेखे
धार्मिकले पत्थरमा देउता लेखे
मजदूरले पत्थरमा भात लेखे
केटाकेटीले पत्थरमा भाँडाकुटी लेखे
बटुवाले पत्थरमा गन्तव्य लेखे
प्रेमीले पत्थरमा प्रेम लेखे
शासकले पत्थरमा झुटाे इतिहास लेखे
कलाकारले पत्थरमा मुर्ती लेखे
धेरैले महल लेखे / घर लेखे / सालिक लेखे

पत्थर / पत्थर मात्रै निर्जीव थियो
कविले यसमा जीवन लेखे।

OOO

गरिब

१] एक

गरिबी नाङ्गो सडक जस्तै हो
जसलाई पाइतालाले कुल्चेर
यात्रीहरू गन्तव्यसम्म पुग्छ्न्

२] दुई

गरिबको हत्केलाको फुकेको ठेला
र धनीको ढुकुटी सुन्निनुमा
अन्तर्सम्बन्ध हुन्छ ।

३] तीन

जुन दिन गरिब सकिन्छ्न्
त्यस दिन धनीको मृत्यु हुन्छ ।

४] चार

गरिब भोको पेटले जाग्राम बस्छन्
धनी अत्याधिक खानाले निदाउन सक्दैनन्

५] पाँच

गरिबले मालिकलाई आशीर्वाद दिन्छन्
उपहारमा मालिकले गालीले स्वागतम गर्छन् ।

OOO

Related posts

दुई कविका दुई कविता

Aarsha Khabar

चन्द्रागिरिको इतिहास, संस्कृति बचाउन शोणितपुर साहित्यिक यात्रा

Aarsha Khabar

इतिहासमै पहिलोपटक औपचारिक रुपमा सिलोक जुहारी

Aarsha Khabar