आर्ष खबर

चन्द्रागिरि साहित्य

किन ध्यान दिंदैन नगरपालिकाले साहित्यलाई ?

चन्द्रागिरि नगरपालिका ऐतिहासिक सांस्कृतिक रुपले प्राचीन नगर हो ।

सुप्रभानगरी, शोणितपुर हुँदै हाल चन्द्रागिरि पर्वतको नामबाट यस नगरले आफ्नो नयाँ पहिचान प्राप्त गरेको छ । यो नगरपालिका कुनै बेला बाणासुरको केन्द्रीय राजधानी पनि थियो । साथै यो भूमि गोपाल वंशको उत्पत्तिको आदिभूमी पनि हो ।

तीर्थहरुको तीर्थ मातातीर्थ यही नगरमा अवस्थित छ । इन्द्रस्थान, विष्णुदेवी, मच्छेनारायण, आदिनारायण, महाँलक्ष्मी, चण्डिका देवी, राम मन्दिर, कोतघर, भालेश्वर मन्दिर (गोंगचु) लगायत ऐतिहासिक, धार्मिक क्षेत्रहरु यसै नगरमा छन् । यस अर्थमा यो नगरलाई तीर्थहरुको सहरको रुपमा पनि लिन सकिन्छ ।

काठमाडौं उपत्यकाको प्रसिद्ध चार पर्वत शृंखलाहरु मध्ये महाभारत पर्वत मालाअन्तरगत रहेको चन्द्रागिरि पर्वत यसै नगरमा पर्दछ । काठमाडौं उपत्यका भित्रिने चार भञ्ज्याङ मध्ये नागढुङ्गा, देउराली र चन्द्रागिरि भञ्ज्याङ यही नगरमा पर्दछ । अनेक किंवदन्ती, मिथक र इतिहास बोकेको यो नगर आफैमा एउटा संस्कृतिक सहर हो । लिच्छवीकालिन शिलालेख, प्राचीन ठ्यासफु, दाफा आदिले प्राचीन साहित्यको विरासत बोकेको हुनाले साहित्य, कला र संस्कृतिको दृष्टिले समेत यो नगर शोध, अनुसन्धान र अध्ययनको उर्वर भूमि हो ।

कुनै पनि साहित्यको सिर्जना गर्न क, ख अर्थात् कखराको ज्ञान जरुरी पर्दछ । कखरा सिक्न ब्याकरणको जानकारी आवश्यक पर्दछ । लामो समयसम्म अंशुबर्माले लेखिएको भनिएको चान्द्र ब्याकरण चन्द्रागिरिकै चन्द्रबर्मा गोमीले लेख्नुभएको थियो ।

स्मरणरहोस यसै नगरपालिकामा शताब्दीपूर्व नै जन्मिएका शिखरनाथ सुवेदी र सोमनाथ सिग्देल सिंगो नेपालको स्वनामधन्य साहित्यकार भित्र पर्नुहुन्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले यात्राका क्रममा रच्नुभएका महत्वपूर्ण रचनाहरुमा यस नगरको प्राचीन बस्ती, बाटो, प्राकृतिक सुन्दरता र समाजको विशद् बर्णन गर्नुभएको पाइन्छ ।

संघीय संरचनामा आइसकेको यतिका समयसम्म पनि नगरले आफ्नो इतिहासको अनुसन्धान, अभिलेखीकरण तथा सांस्कृतिक धार्मिक सम्पदाहरुको संरक्षण गर्नेगरी कुनै कदम चाल्न नसक्नुले राजनीतिबाट शासकीय तहमा पुगेका नेतृत्वहरुको चेतना स्तरमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

त्यस्तै यसै नगरपालिकामा रहेको त्रिभुवन पार्कमा युगकवि सिद्धिचरण श्रेष्ठले लामो समय बिताएको र कालजयी कविताहरु सिर्जना गरेको यथार्थ छर्लङ्गै छ । यद्यपि, यस्तो गरिमामय इतिहास र पहिचान बोकेको नगरपालिकाले आफ्ना प्राचीन–सांस्कृतिक सम्पदाहरु तथा नगरभित्रका साहित्य कला संगीत क्षेत्रको संरक्षण र विकासका लागि कुनै ठोस नीति निर्माण तथा योजना बनाउन सकेको छैन । यो अत्यन्त लज्जास्पद विषय हो ।

संघीय संरचनामा आइसकेको यतिका समयसम्म पनि नगरले आफ्नो इतिहासको अनुसन्धान, अभिलेखीकरण तथा सांस्कृतिक धार्मिक सम्पदाहरुको संरक्षण गर्नेगरी कुनै कदम चाल्न नसक्नुले राजनीतिबाट शासकीय तहमा पुगेका नेतृत्वहरुको चेतना स्तरमाथि नै प्रश्न चिन्ह खडा भएको छ ।

मानव सभ्यताको विकासक्रमसँग जोडिएका अनन्त धर्म , संस्कृति विविध परम्परा र संस्कारहरुको यथोचित अभिलेखीकरण र विकास बिना समाज कसरी अगाडि बढ्न सक्छ ?

लोक जीवन, लोकभाका, लोकलय र स्मृतिहरुको संरक्षण तथा साहित्य कला र संस्कृतिको सम्बर्द्धनबिना आधुनिक नागर सभ्यताको विस्तार र विकास कदापि सम्भव हुन सक्दैन ।

सामाजिक जीवनको संरचनाभित्र प्रचलित नियमहरु समाजका अलिखित विधान हुन् । सामाजिक मूल्यसँग जोडिएका रहन–सहन, खानपान, भेषभुषा, भाषा, परम्परा, संस्कार र संस्कृति नै समाजको सार्वभौम स्वरुप हो । साहित्य, कला र संगीत समाजको बौद्धिक भाषा हो । साहित्य कला र संगीत भित्र जीवन्त मानवीय संवेदना चल्मलाई रहेको हुन्छ । साहित्य, कला र संगीतले मानिसहरुलाई भ्रष्ट र अनैतिक हुनबाट बचाउँछ । सामाजिक सद्भाव कायम राख्न सहयोग गर्छ । सह–अस्तित्वको विशाल भावना जगाई राख्छ ।

साहित्य कला र संगीतबिनाको समाज मृत समाज हो । जड समाज हो । त्यस्तो मृत र जड समाजले केवल भौतिक स्वार्थको प्रस्ताव गर्छ । त्यस्तो समाजले द्रव्यमुखी, अवसरवादी र पतित मान्छेहरुलाई जन्माउँछ । त्यस्तो समाज व्यवस्थाभित्र केवल फोहोरी किराहरु मात्र हुर्कन्छ । पोषित हुन्छ । पालित हुन्छ ।

त्यस्तो समाजले दूषित राजनीतिको अभ्यास गर्न थाल्छ । हरेक व्यक्तिलाई प्रतिभाको रुपमा नभई मतदाताको रुपमा देख्न थाल्छ । हेर्न थाल्छ । कालान्तरमा त्यही दूषित राजनीतिक अभ्यासले समाजलाई खाइदिन्छ । सामाजिक सद्भावलाई खाइदिन्छ । मान्छेको चेतना र विचारलाई निलिदिन्छ । अन्ततः मानवीय अस्तित्व नै समाप्त हुन जान्छ ।

चन्द्रागिरि नगरपालिकाले आफ्नो नगरको सर्वाङ्गीण विकास चाहने हो भने बेलैमा सोहीअनुसार आगामी कार्य योजना अगाडि बढाउनु पर्ने देखिन्छ । किनकी आज हामी जे बोलिरहेका छौं, जुन पद र ओहोदामा पुगेका छौं वा विभिन्न विधा/पेशामा संलग्न छौं, यि सबैको स्रोत भनेको प्रत्यक्ष, अप्रत्यक्ष साहित्य नै हो ।

सुझावहरु

१. चन्द्रागिरिको इतिहास अनुसन्धानका निम्ति चन्द्रागिरिकै इतिहासविद्हरु अथवा सो सम्बद्द संस्थाहरुसँगको सहकार्यमा चन्द्रागिरिको इतिहास सम्बन्धी अनुसन्धान अभिलेखीकरण गर्नुपर्ने । अथवा, इतिहास अनुसन्धान अध्ययन केन्द्रको स्थापना गर्नुपर्ने छ ।

२. चन्द्रागिरि नगरपालिका भित्रका धार्मिक, सांस्कृतिक सम्पदाहरूको अध्ययन अनुसन्धान र संरक्षण गर्नेगरी योजना बनाउनु पर्नेछ ।

३. साहित्य कला र संगीतको संरक्षण विकासका लागि नगरस्तरीय साहित्य कला संगीत प्रतिष्ठान गठन हुनुपर्छ । साथै त्यसका निम्ति भवन निर्माण गरिनु पर्छ।

४. नगरभित्रका आदिवासी, जनजातिहरुको मौलिक संस्कृति, भेषभुषा, वाद्यवादनलगायतको संरक्षण प्रदर्शनका लागि एउटा सांस्कृतिक संग्रहालय निर्माण गर्नुपर्ने छ ।

५. नगरभित्र साहित्यिक पर्यटनको गन्तव्य निर्धारण गरिनु पर्दछ।

६. साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्न नगरस्तरीय एउटा अक्षयकोष स्थापना गर्ने र सो विधामा अतुलनिय योगदान पुर्याउने व्यक्ति, संस्थालाई नगरबाट वार्षिक पुरस्कारको घोषणा गरिनु पर्दछ ।

७. साहित्य, कला र संस्कृति सम्बन्धी पत्रपत्रिका प्रकाशन गरिनु पर्दछ ।

८. नगरमा बसेर प्राज्ञिक कर्म गर्ने, वाङ्मयको श्रीवृद्धिका लागि कार्य गर्ने, सृजनात्मक र बौद्धिक क्रियाकलापमा संलग्न रहेका स्वनामधन्य व्यक्तित्वहरुको पहिचान गरी तथ्यांक राख्ने । साथै, उनीहरुको सम्मान र वृति विकासका लागि पहल गरिनु पर्दछ ।

९. साहित्य, कला र संस्कृति समाजको पथ प्रदर्शक हो भनेर स्वीकार गरिनु पर्दछ।

साहित्य, कला र संस्कृतिको क्षेत्रमा चन्द्रागिरि नगरपालिकाले गम्भीरतापूर्वक आफ्नो दायित्व बहन गर्दै समाज परिवर्तनमा सहयोग पुर्याउन जरुरी छ । आउनु होस्, सबै मिली साहित्यको जर्गेना गरौं ।

Related posts

स्कुटर चलाउन सिक्दै चन्द्रागिरिका महिला

Aarsha Khabar

चन्द्रागिरि–१२ मा ढल निर्माण कार्य सुरु

Aarsha Khabar

बलिदानको उपज नै अहिलेको संविधान : नारायणकाजी श्रेष्ठ

Aarsha Khabar