आर्ष खबर

साहित्य

नेपाली साहित्यको काव्य विधा बहस, आकर्षण र चर्चाको केन्द्रमा

बिल्कुलै खाली क्यानभास जस्तो
रंगहिन जिन्दगी
सुखको सादा वस्त्रमा
विधुवा झै निरस जीवन बाँचिरह्यो सायद
फुकालेर सुखको कालो चस्मा
मैले कहिले हेरिनछु जिन्दगीलाई
दुःखको रंगिन दृष्टिले
म छक्क परें–
कसरी आजसम्म
जिन्दगीको यो सुन्दर अनि शाश्वत रुपदेखी अछुतो रहें ? – ‘प्रियसी दुःख’

 

हजुरलाई लाग्दो हो–
आरन छोडेर यो आरने–
किन मेरै पुख्यौली सिंहासन ताक्दो हो ?

हजुरलाई लाग्दो हो–
जुठोपूरो, सिनो, बालीघरे बटुल्न छोडेर–
किन अक्षर फलाक्दै शास्त्रार्थ गर्दो हो ?

हजुरलाई यो पनि लाग्दो हो–
सियो र धागोको कर्म छोडेर
किन चिहाउँदो हो
सियो र धागैले उनेको संसार ?
किन खोज्दो हो
सियो र धागैको हिसाब–किताब ? – ‘म त जन्मैले बागी रहेछु हजुर !’

 

नेपाली साहित्यको काव्य विधा अहिले आकर्षण र चर्चाको केन्द्रमा छ । राष्ट्रिय मिडियादेखि सामाजिक सञ्जालसम्मको अध्ययनबाट थाहा लाग्छ – अहिले नेपाली साहित्यको कविता विधा विकासको गतिमा अग्रसर छ ।

स्वाभाविक हो – यही समयमा थुप्रै कविहरु आफ्ना कवितामार्फत् प्रकट भइरहेका छन् ! आ–आफ्ना सीमा-स्वभाव-शिल्प-सौन्दर्य-अनुभूति र / प्रयोगबाट काव्य उन्नयनका विविध यत्नहरु गरिरहेका छन् । यो निसन्देह काव्यका निम्ति सुखद संकेत हो ।

यद्यपि / गुणवत्ता र चेतना निर्माणका दृष्टिले आजका कवि र / कविताहरुको परीक्षण हुन बाँकी नै छ ।

साहित्य सामाजिक संरचनाभित्रको प्रक्रिया हुनाले साहित्यले प्रस्ताव गर्ने विषयवस्तु गतिशील र मान्छेको सार्वभौम अधिकारका पक्षमा उभिएको छ – छैन हेर्नुपर्ने हुन्छ । सरसर्ती हेर्दा आजको कविता विगतको तुलनामा निकै वाचाल र व्यञ्जनापूर्ण छ । विविधतायुक्त छ । प्रतिरोधी छ ।

आजको कविता र कविहरुको भीडमा संजीव राई न नयाँ हो न पुराना ! त्यस्तै – कृष्ण विश्वकर्मा न नयाँ हो न पुराना ! यी दुई कवि अधकल्चो समयका जटिल उत्पादन हुन् । यिनीहरुले लेखिरहेको कविताको भाषा फरक छ । अर्थ फरक छ । आग्रह फरक छ । यी दुई कविहरुको सांस्कृतिक धरातल र समाज दर्शन फरक छ । तथापि, यी दुवै कविहरु आजका मुखर र / महत्वपूर्ण कविहरु हुन् !

निरन्तरको दलन उत्पीडन र असमानताविरुद्ध कविता लेखिरहेका कृष्ण विश्वकर्मा र त्यस्तै जीवन्त लयमा शक्तिशाली कविता लेखिरहेका संजीव राईका तीन–तीन कविता यहाँ प्रस्तुत गरेका छौं ।

 

कृष्ण विश्वकर्मा

छुनु

छुनु, सृष्टिको आरम्भ हुनु हो ।

कुनै उष्ण लाम्पुच्छ्रे ताराले नछोइदिएको भए
कहाँ आविष्कार हुन्थ्यो र यति सुन्दर पृथ्वी !

एउटा बीजले जब छुन्छ धर्तीको गर्भ
हेरिरहुँ लाग्ने बनिदिन्छ सुन्दर विरुवा

खोतल्दै खोतल्दै
कुटोले जब छुन्छ बन्जर जमीन
हराभरा सिँगारिएर मुस्कुराउँछ प्रकृति

उत्रेर खरो मन्थनमा
जब छुन्छ विचारले विचार
अन्ततः जन्मिन्छ निष्कर्षमा
एउटा शाश्वत जीवन दर्शन

कर्तव्यवोधसँगै
जब छुन्छ दिनले रात
फैलिन्छ भूगोलै भरि उज्यालै उज्यालो

छुनु – आविष्कार पनि त रहेछ ।
छुनु – अन्धकार निर्मूल हुनु पनि त रहेछ ।

ओठले छोए पछि नै हो
निस्किने- बाँसुरीबाट मीठो धुन

औंलाहरूले छोएपछि निस्किन्छन्
सारंगी, तबला, हार्मोनियमहरूबाट
जीवन झुम्ने, नाँच्ने, नचाउने सरगमहरू
जीवन झुम्ने, नाँच्ने, नचाउने सुरतालहरू

जब पाइतालाहरूले छुन्छन् बाटो
बाटोले मार्गप्रसस्त गरिदिन्छ- यात्रा
यात्राले तय गरिदिन्छ- जीवनको गति

छुनु- निर्वाण होइन, सृष्टि रहेछ ।
छुनु- विनिर्माण होइन, निर्माण रहेछ ।

कुनै कथा-व्यथाले
चस्स छोइदिन्छ कतै
र त मनले आँखालाई
करुणामा द्रवीभूत हुन सिकाउँछ

कुनै सुन्दर फूलले
आँखालाई सप्रेम छोइदिन्छ
र त मनले मान्छे मान्छेमै
खोजिरहन्छ फूल जस्तै सुन्दरता

छुनु – एक सिर्जनात्मक खोज पनि रहेछ ।
छुनु – उत्पत्तिको एक रुपान्तरण पनि रहेछ ।

लगाएर अहंकारको शास्त्रीय जलप
भूगोलको एक असामाजिक चेतना
लिप्तछ अझै
“नछुनू” को जडगत अतिवादमा !!

सदियौंदेखि
भूगोलकै एक किनारा
अहंकारकै
दिग्भ्रमित व्याख्या / उपव्याख्याभित्र
बनेको छ एउटा व्याकरणीय – अपवाद !

ए बुद्धिमान मान्छे !
किनारालाई गरेर त हेर अंकमाल
बुझ्नेछौ पृथ्वी सन्तुलित अडिनुको राज
बुझ्नेछौ छुनुको तिलस्मी रुपान्तरणहरू

OOO

सुल्टै सुल्टोको उल्टो यात्रा

हिँड्दा हिँड्दै धेरै हिँडिएछ
सुल्टै सुल्टोका लामा यात्राहरू !

बाटोमाथि नहिँड् भने
सुल्टै हुकुम ठाने – हिँडेनन् !
भित्र नपस् भने
सुल्टै कृपा ठाने – पसेनन् !
दैलो नछो भने
सुल्टै उर्दी ठाने – छोएनन् !

त्रास त्रासमै
यसरी नै धेरै हिँडे
लाटा लाटा पाइतालाहरू
सुल्टै सुल्टोको पिँधै पिँध

सुल्टै सुल्टो हिँड्दा हिँड्दा
किचिमिचिमा परेर सुल्टैको रजगजभित्र
भएका हुन् लाटा पाइतालाहरू समाधिस्थ !

भर्खर भर्खरै ब्युँझेको छ एउटा बागी चेतना
पढ्दा पढ्दै सुल्टै सुल्टोको कुटिल भाष्यहरू

यतिखेर मेरो छुच्चो मस्तिष्क
उम्रेर उही पाइतालाहरूको समाधिबाट
गर्दैछ- सुल्टै सुल्टोको अविराम उल्टो यात्रा

कतिपय सुल्टोहरू
श्राद्धमा बिरालो बाँधेर अमर भएछन् !
कतिपय सुल्टोहरू
ग्वेबल्सले रटाउँदा रटाउँदै स्वर्णिम भएछन् !
कतिपय मिथकीय सुल्टोहरू
शास्त्रले पिलाउँदा पिलाउँदै अजर भएछन् !

बिज्ञान त अझै पनि
अट्टाहासको मूर्च्छामा छ
जबदेखि सुन्दै सुन्दै आयो
मुख, बाहु, उदर र पाउबाट मान्छेको सृष्टि

हो यहीँबाट शुरू भएको हो मेरो
एक अविराम- सुल्टै सुल्टोको उल्टो यात्रा ।

जब मेरो चेतना
पुच्छरको ‘ज्ञ’ हुँदै हुँदै ‘क’ सम्म पुग्यो
यात्रामा भेटेँ मुस्कुराइरहेका
अघोषित स्वरसम्राट – झलकमान गन्धर्व
भेटेँ यात्रामै
भक्ति थापा अघि अघि लम्केमा- बाङ्गे सार्की
भेटेँ यात्रामै
आदिम शासकलाई राजपाठ सिकाउने
अलिखित चाणक्य – बिसे नगर्ची

सुल्टै सुल्टोको उल्टो यात्रामा
जब सुनें अचानक
– हामीले हिमाल उठायौं एसियाको माझमा…
उत्तिनैखेर देखें
खित्का छोडेर हाँसिरहेको- हिमालकै फेद !

तीतो हुन्छ अन्तिम सत्य
तीतै हुन्छ सुल्टै सुल्टोको उल्टो यात्रा
यतिखेर म यात्रारत छु
पन्छाउँदै पन्छाउँदै जिब्रोको- मीठो स्वाद

सुल्टै सुल्टोको उल्टो यात्रामा
सम्बोधन गर्न प्रकट भए एक महान पंक्ति
“ईश्वरको सन्तान मान्छेका भाइ……….”
किच्च हाँस्यो मेरो यात्रा
खोज्दा – न भेट्यो ईश्वर न भेट्यो मान्छेका दाइ

गर्दै गर्दा
सुल्टै सुल्टोको उल्टो यात्रा
खोज्न मन भयो
सयौं थुंगा फूलका हामी एउटै माला…भित्र
कहाँनिर छ – धतुरो, बुकी फूलको स्थान ?
कहाँनिर छ – बाह्रमासा भुइँ फूलको अस्तित्व ?

मलाई एक दिन
पुग्नुछ फेदबाटै सगरमाथाको टुप्पो
र, चर्को स्वरमा मुखरित हुँदै लेख्नु छ
सुल्टै सुल्टोको – उल्टो यात्राको इतिहास ।

OOO

“किनमेल”

आज किनमेलको चाँजोपाँजोमा छु ।
अर्थोकै-अर्थोक धेरै थोकहरु किन्नु छ ।

यतिखेर अल्छी समयसँगै
कैफियत सोचका खुद्रा पसलहरुमा छु
सबै कैफियत सोचहरु बेच्न-खरिद्न
चलिरहेछ साहुजीहरुसँग बार्गेनिङ

भ्याएसम्म पृथ्वीमाथि,
पुग्नु छ ६ लोकका पसलहरुमा
भ्याएसम्म पृथ्वी तल,
पुग्नुछ ७ लोकका पसलहरुमा
अर्थोकै-अर्थोक धेरै थोकहरु किन्नु छ ।

झट्टै पुगेर कैलाश पर्वतका पसल
किन्नुछ अलिकति सञ्जीवनी बुटी
दिनुछ दिवङ्गत शुक्राचार्यलाई पुनरजन्म

ढिलोचाँडो पुगेर विराट पुरुषका पसल
खरिद्नु छ अलिकति वर्ण उत्पत्तिको भेद
युगौंदेखि निर्धारित मूल्यमा
गराउनुछ धेरथोर फेरबदल ।

उता नर्कका अतल, वितल, तलातलहरुमा
थाप्दै होलान् भयका भव्य-भव्य पसलहरु
चेङ्गिच, मुसोलिनी,  ईदी आमिन, हिटलरहरु
किम जोङका आणविक पसलहरु पुग्नु पूर्व
एकलट गर्नुछ त्यता पनि थोरै विन्डोसपिङ्ग
ता कि,
विश्व महामहिम झैँ थर्कमान भई रहोस्
उत्तरी अझ धेरै दक्षिणी गिद्धे नजरहरु ।

कतै नयाँ पसल पाई हालें भने
अलिकति आस्था अलिकति विश्वास किन्नु छ
सटही गरेर अथाह चिसा-चिसा पीडाहरु
अलिकति मित्रता अलिकति भाइचारा किन्नु छ ।

सटही गरेर तमाम विभेद, विसंगतिहरु
मूर्च्छित मुहारहरुमा हाँसो-खुशी किन्नु छ
अलिकति अपनत्व अलिकति स्वत्व किन्नु छ
हो, आज
अर्थोकै-अर्थोक धेरै थोकहरु किन्नु छ ।

किनमेल गर्दा गर्दै अन्त्यमा,
कुनै नयाँ पसल पाई हालें भने
प्रतीक्षाको असामयिक निधन हुनुपूर्व
होलसेलमा
सबैलाई बाँड्न पुग्ने उन्मुक्ति किन्नु छ ।

OOO

 

संजीव राई

लीला

पातलो हुस्सुको
सेतो पारदर्शी पछ्यौरीले
आफ्नो नग्न वक्षस्थल ढाक्ने
असफल प्रयासमा
बारम्बार लज्जित भइरहेकि पहाडलाई
झन्-झन् हैरान पार्दै
चञ्चल पवन
त्यो आँचल पक्रिइ सुस्त गतिमा उडिरह्यो
वर्षेझरीमा
धित मरुञ्जेल नुहाउन नपाउँदै
पिठ्यूमा चिमोट्दै बिचरीलाई सताउन
घाम पनि लागिहाल्थ्यो फेरी फेरी

यो प्रेमक्रिडा शिव पार्वतीको ?
वा सुम्निमा र पारुहाङ्गको ?

अद्भूत लीला प्रकृतीको यस्तो
कस्तरी टोलाएर हेरिरह्यौ तिमीले
तिम्रै सामुन्ने बसेर मैले
पारूहाङ ठानि आफुलाई
तिमीलाई सुम्निमा सिँगारेको
कुनै थाहा पत्तो पाइनौ
कतिखेर हो ममा शिवत्व चडिसकेछ
म भित्र पारुहाङ्ग बौरिसकेछ
अनि तिर्खाले घिटी घिटी भएपछि
गिलासमा सारेँ र पिइदिएँ घटघट तिमीलाई
यतिसम्म हुँदा पनि
बेखबर नै रह्यौ तिमी
बेअसर नै रह्यौ
म तीन छक्क परेँ
तिम्रो वेहोशीपनादेखि
कस्तरी केही थाहा नपाउन सकेकि तिमीले !?
एउटा सिक्काको दुइपाटा हुन्छ
धेरै पछि बोध गरेँ
अर्को पाटामा के हुनसक्छ ?
तिमीले थाहा नपाउनुको विपरित अर्थ
अर्थ्याएँ र अवाक बनेँ ।

OOO

आसक्ति

जिन्दगीसँग छुट्टीनु
निश्प्रभावी किन हुन सक्दैन
मान्छेका लागि ?

गतिशीलताको पटरीमा दौडिरहने –
जिन्दगी
मान्छेको भावुकतासँगै
कुनै मोडमा रोकिएर आत्महत्या गर्न सक्दैन
बरू
जिन्दगी जतिनै निष्ठूरी भए पनि
जिन्दगीकै खातीर मान्छेले
मृत्यू पनि हाँसी-हाँसी स्वीकारेको छ

जिन्दगीलाई जिन्दगीभर खुशी राख्न
मान्छेले
आफुसँग भएको एउटै हृदय पनि
धरौटी राख्दै आएको छ
मान्छेको आफुप्रतिको यस्तो आसक्ति देखेर
जिन्दगी कुटील हाँसो हाँस्छ
र पछारेर सम्झौताको ऐनामा
मान्छेको अहम् चकनाचूर पारिदिन्छ

जहाँ चाह्यो त्यहाँ मान्छेले
रोक्न सकेन कहिल्यै जिन्दगीलाई
जिन्दगीले तथापि
उडाइरहयो सधैं नै सिमलको भूवाझैं
मान्छेलाई कता कता…..

हरदम आफुलाई छोएर
बगिरहने पानीलाई
टुलु-टुलु हेरेर बसिरहने
असहाय किनारझैं
पलपल आफ्नै हातबाट छुटिरहेको जिन्दगीलाई
सम्झि सम्झि जिन्दगीभर
कल्पिरहन्छ मान्छे

किन निश्प्रभावी हुन सक्दैन
जिन्दगीसँग छुट्टीनु
मान्छेको लागि ?

OOO

आकाश छेँड्दै

डाँडामाथिको मन्दिरमा
माया पुज्न हो कि
सिँढीहरू टेक्दै रहरको उकालो चढ्यौँ हामी
थाकेर खुट्टाले सुस्ताउन खोजे पनि
मनहरू त खुशीले कावा खाँदै
माथी-माथी उडी रहे
आकाशलाई छेँडेर त्यतिबेला
कहाँ कहाँ पुगे मनहरू
हामीलाई मात्र थाहा भएको कुरा हो यो
प्यास लाग्थ्यो
पानी पिउँदा झन तृष्णा जाग्थ्यो
बिस्कुट खुवाएर तिमीले मलाई
कुन भोक जगाइदिएकी थियौ
भने भनेँ लजाउँछौ तिमी
छटपटीको कोलाहलले आवाद त्यो एकान्त
उत्तेजनाका भीडले भरिएका त्यो निर्जन वन
म भन्न सक्दिन
कामूकता वनमा थियो कि मनमा ?

हुलका हुल उन्मादले
मेरो संयमतामा असह्यनिय प्रहार गरेपछि
बचेखुचेका जे जति सँकोच र त्रास थिए
सबै डुबाईदिएँ साँझको घामसँगै
विरोध गरुँ कि समर्थन
तिम्रो किँकर्तव्य विमूढताको फाईदा उठाउँदै
मैले अँगालोमा कसेको त्यो कंपित देह
तिम्रै त थियो

नशा नशामा तातो भएर रगत
बग्दैथियो हतार साथ छिटो छिटो
मदहोसीको गहिरो गुफामा
पस्दैथिएँ म बिस्तारै बिस्तारै
तिम्रो अनुभूति कस्तो रह्यो कुन्नी ?
मैले त अनुमान मात्रै लगाउने न हो
यस्तै भो कि भनेर ।

OOO

Related posts

मनोत्पल

Aarsha Khabar

छिमेकीको कुदृष्टि

Aarsha Khabar

मैले कसरी लेख्न सिकें (भाग दुई)

Aarsha Khabar