आर्ष खबर

साहित्य

दुई कविका दुई कविता

देश

किशाेर गतिशील

देशकाे लागि केही गर्ने खाेइ मान्छे काे छ ?
दिन दुःखीकाे कस्ट हर्ने खाेइ मान्छे काे छ ?

असुरक्षित छ सीमाना छेकबार छैन कतै
पर्खाल लाउन अघि सर्ने खाेइ मान्छे काे छ ?

राजनीतिमा ठग्ने लुट्ने परम्परा बसेपछि
देश विकासमा लगि पर्ने खाेइ मान्छे काे छ ?

केही गर्छु भन्नेहरू माेज मस्तिमा लागेपछि
सत्रु लाग्दा देशकाे लागि मर्ने खाेइ मान्छे काे छ ?

पहुँच हुँदा सबैलाई एकै चिहान पारेपछि
तिमी मर्दा लाजा छर्ने खाेइ मान्छे काे छ?

OOO

मुर्दाघरको मञ्चबाट

राममणि सिटौला

यद्यपि / त्यो काल्पनिक नाटक थिएन
दृश्यमा थियोे घर
त्यो घर नभएर मुर्दाघर थियो ।

– मञ्चका सबै पात्रहरु मृत थिए ।

– मृतकहरुको सुरक्षामा
तैनाथ थिए मृतकहरु !

टाउकोमा सेतोपट्टी बाँधेर
जुलुस निकाल्दै थिए
समाजका मृत ठेकेदारहरु !

मृतकहरुको बीचबाट –
एउटा मृतक घोषणा गर्छ
हामी स्वतन्त्र छौ !

ताली बजाउँदै जयकार गर्छन् अरु मृतकहरु !

एउटा मृतक बाँसुरी बजाउँछ
अरु राग अलाप्छ्न् !

मञ्चमा देखिन्छ –
अर्को गज्जबको दृश्य !

– एक हुल मृतकहरु
सदनमा छिर्छ्न्
अर्को हुल मृतकहरुमाथि
गाली बर्षाउँछ्न् !

– मञ्चका कवि कलाकारहरु
सबै मृत छन् !

– मृत छ कला पनि !

– एउटा मृत गजलकार
अर्को मृत गजलकारलाई
दोसल्ला ओढाउँछ !

अधिक ठण्डा थियो
मञ्च
मर्दै थिए चिसा वस्तु
मर्दै थिए आस्था …

– मञ्चमा छ एउटा देश !

जहाँ मृतकहरुले
देशलाई कौडा बनाएर
खालमा हानीरहेछ्न् –
मार्रा !!!

मृतकहरुको शोकमा
मृतकहरुले निकाली रहेछन् –
मैनबत्ती जुलुस !

– पारित भइरहेछ
शोक प्रस्ताव
निन्दा प्रस्ताव !

लम्बिदै थियोे
पट्ट्यारलाग्दो नाटक
लाग्थ्यो कहिल्यै सकिदैन
यो नाटक
खस्दैन रंगमञ्चको पर्दा
अझै चलीरहनेछ
शताब्दी सम्म !

यद्यपि / त्यो काल्पनिक
नाटक थिएन ।

OOO

Related posts

छिमेकीको कुदृष्टि

Aarsha Khabar

लेखनमा त्याग र सोच ठूलो कुरा हो

Aarsha Khabar

एक्लो उपत्यकाका कवि रामगोपालका कविताहरु

Aarsha Khabar