आर्ष खबर

अर्थ

कोभिड–१९ ले नेपालको कुल गार्हस्थ उत्पादनमा करिब १ खर्ब ६८ अर्बको क्षति

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड १९ का कारण नेपालको कुल गार्हस्थ उत्पादनमा करिब १ खर्ब ६८ अर्बले क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।

संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले देशको कुल गार्हस्थ उत्पादनमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको बताउनु भएको हो । कोभिड १९ का कारण होटल, रेस्टुरेन्ट, यातयात, निर्माण र व्यपाार क्षेत्रमा सबैभन्दा बढी असर परेको गभर्नर अधिकारीले बताउनु हुन्छ ।

कोभिड १९ को कारण बैंकिङ क्षेत्रको निक्षेप संकलन तथा कर्जा प्रवाहमा परिवर्तन भएको समेत गभर्नर अधिकारीले बताउनुभयो । उहाँले २०७६ चैत देखि २०७७ जेठसम्म बैंकको निक्षेप बढेको तर कर्जा बढ्न नसकेको बताउनुभयो । बैंक तथा वित्तीय संस्थामा निक्षेप १ खर्ब ७२ अर्ब र कर्जा १६ अर्बले मात्र बढेको गभर्नर अधिकारीले बताउनुभयो ।

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकको अनलाइन सर्वेक्षणमार्फत कोभिड–१९ बाट सिर्जित समस्याको विश्लेषण गरिएको बताउनुभयो । गभर्नर अधिकारीले सर्वेक्षणबाट प्राप्त भएका नतिजाको विश्लेषण गर्दा कतिपय व्यवसाय सामान्य अवस्थामा फर्कन करिब १ वर्ष लाग्ने देखिएको उल्लेख गर्नुभयो । आगामी वर्षको मौद्रिक नीति तर्जुमा गर्दा सर्वेक्षणको निष्कर्षलाई समेत प्राथमिकता दिइएको अधिकारीले बताउनुभयो । उहाँले विद्युतीय भुक्तानीको बढ्दो प्रयोगले बन्दाबन्दीको अवस्थामा पनि वित्तीय कारोबार सहज बनेको बताउनुभयो ।

Related posts

‘नेपाललाई ६३ करोड ९९ लाख रुपैयाँ अनुदान’

Aarsha Khabar

शेयर कारोबारको समय ११ बजेदेखि ४ बजेसम्म

Aarsha Khabar

सरकारले श्रम स्वीकृति खुला गर्ने निर्णय

Aarsha Khabar