आर्ष खबर

स्वास्थ्य

कोरोनाबाट थप तीन जनाको मृत्यु, सोमबार १३९ जना संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाबाट मृत्यु भएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको फेटा ३ का ६० वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताउनु भयो । मृतक निमोमिया, मस्तिस्कघात र मृगौला सम्बन्धी रोगबाट पीडित थिए ।

यस्तै पर्साको वीरगञ्ज १० बस्दै आएका ६५ वर्षीय भारतीय नागरिकको पनि कोरोनाकै कारण मृत्यु भएको छ । उनको साउन १० गते विहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । ती पुरुष मुटु र मधुमेह रोगका विरामी थिए ।

यसैगरी धनुषा सहिदनगर ८ का ३६ वर्षीय पुरुषको पनि ११ गते नै कोरोनाका कारण मृत्यु भएको छ । साउन १० गते ज्वरो र खोकीसँगै स्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरको इमरजेन्सीमा भर्ना भएका थिए । आइसीयुमा राखेर उपचार गरिएपछि स्वास्थ्यमा सुधार नआएपछि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । उपचारका लागि लैजादै गर्दा उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

सोमबार नेपालमा थप १३९ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयले दैलेखमा २८ जना, सप्तरीमा २१ जना र पर्सामा २० जनामा कोरोना देखिएको छ । साथै धनुषा र महोत्तरीमा १०÷१०, बैतडीमा, काठमाडौं, ललितपुर र कास्कीमा ३÷३ जना, सल्यानमा २ जनामा संक्रमण देखिएको छ । यस्तै सिराहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एक–एक जनामा संक्रमण देखिएको छ ।

सोमबार ६२६ जना डिस्चार्ज भएका छन् । आजसम्म १३७५४ जना संक्रमित निको भएर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा ४९५० जना संक्रमित उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमले प्रदेश नम्बर १ मा १९५, प्रदेश नम्बर २ मा १९११, बागमती प्रदेशमा ४०२ र गण्डकी प्रदेशमा २४४ जना आइसोलेसनमा उपचाररत रहेका छन् भने प्रदेश नम्बर ५ मा ३५३, कर्णाली प्रदेशमा ३७५ र सुदूरपश्चिम प्रदेशमा १७४० जना उपचाररत रहेका छन् ।

क्वारेन्टिनमा अहिले १६३७१ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा १८९९, प्रदेश नम्बर २ मा २१८०, बागमती प्रदेशमा १२०५ र गण्डकी प्रदेशमा ३४३६ जना क्वारेन्टिनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा २३०४, कर्णाली प्रदेशमा ८६३ र सुदूरपश्चिम प्रदेशमा ४४८४ जना क्वारेन्टिनमा रहेका छन् ।

Related posts

नेपालको ७७ वटै जिल्लामा कोराना संक्रमण, मृत्यु हुनेको संख्या २८ पुग्यो

Aarsha Khabar

सरकारले सातै प्रदेशमा उपकरणसहित तत्काल ल्याब स्थापना गर्नुपर्छ : प्रचण्ड

Aarsha Khabar

थप ११ जना कोरोना भाइरस संक्रमित, संक्रमितको संख्या १२१ पुग्यो

Aarsha Khabar