आर्ष खबर

खेलकुद

सागमा स्वर्ण विजेता खेलाडीलाई सम्मान

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

१३ औं सागमा नेपालले व्यक्तिगत र टिम स्पर्धामा गरी विभिन्न १३ खेलमा एतिहासिक ५१ स्वर्ण जितेको थियो । ५१ स्वर्णसहित ६० र ९६ कांस्य जित्दै ७ राष्ट्र सहभागी १३औं सागमा नेपालले दोश्रो स्थान हासिल गरेको थियो । १३ औं सागमा नेपालले हासिल गरेको उपलब्धि सागकै इतिहासमा अहिलेसम्मकै उत्कृष्ट हो । नेपालमै सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा पनि नेपाल दोश्रो भएको थियो । त्यत्तिखेर नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो ।

साउन ६ गते विभागले आफ्नो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा १३औं साग स्वर्ण विजेतालाई १० दिनभित्र नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो । त्यत्ति बेला व्यक्तिगत स्पर्धाका विजेतालाई सम्मान गर्ने घोषणा गरेपनि टिम स्पर्धाका स्वर्णधारीलाई पनि सम्मान गर्ने विषयमा छलफल गरी निर्णय लिने विभागका प्रमुख मोहनबहादुर बस्नेतले प्रतिबद्धता जनाएका थिए । सोही अनुरुप एकल र टिम स्पर्धाका स्वर्ण विजेतालाई सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शुक्रबार सम्मान गरिएको हो ।

एक स्वर्ण विजेतालाई १० हजार, दोहोरो स्वर्णलाई १५ हजार र चार स्वर्ण जित्नेलाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरिएको थियो । दोहोरो स्वर्ण जित्नेमा गोल्फका सुवास तामाङ, तेक्वान्दोकी आयशा शाक्य र करातेका मन्डेकाजी श्रेष्ठ रहेका छन् । पौडीकी गौरिका सिंहले ४ स्वर्ण जितेकी थिइन् । व्यक्तिगत स्पर्धा र टिम स्पर्धाका स्वर्ण विजेतालाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । गौरिका लन्डनमा रहेकाले उनको पुरस्कार नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले ग्रहण गरे । कार्यक्रममा उपस्थित हुन नसकेका खेलाडीको पुरस्कार सम्बन्धित खेलाडीसम्म पु¥याउने व्यवस्था मिलाउने विभागले जनाएको छ ।

नेपाल कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीलाई एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । सो अवसरमा देउवाले १३औं सागमा उत्कृष्ट प्रदर्शन गरी नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा उच्च बनाएकोमा खेलाडीको प्रशंसा गर्नुभयो । विभाग प्रमुख बस्नेतले रजत र कांस्य विजेतासँगै प्रशिक्षकलाई पनि क्रमैसँग सम्मान गर्ने प्रतिबद्धता जनाउँदै ओलम्पिकमा सहभागी हुने खेलाडी र प्रशिक्षकको नामवली पाए १० दिनभित्र उनीहरुको कोरोना विमा गर्न विभाग तयार रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले हरेक राजनीतिक पार्टीले खेलकुदलाई महत्व दिने हो भने नेपाली खेलकुदलाई अझ उचाइमा पु¥याउन सहज हुने बताउदै खेलाडीलाई सम्मान गरिदिएकोमा विभागलाई धन्यवाद दिनुभयो ।

Related posts

लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुदेन र प्रकाशलाई

Aarsha Khabar

भ्याली च्यासल युथ क्लबलाई हराउँदै एनआरटीको सानदार सुरुवात

Aarsha Khabar

मूलपानी ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ २ वर्ष भित्र संचालनमा आउने

Aarsha Khabar