आर्ष खबर

खेलकुद

विश्वकप र एशियन कप छनोटका बाँकी खेलहरु स्थगित

काठमाडौं । विश्वकप छनोटमा नेपालले घरेलु मैदानमा खेल्ने खेल फेरि स्थगित भएको छ ।

पूर्वनिर्धारित तालिकाअनुसार नेपालले असोज २२ गते चाईनिज ताईपेइ, असोज २७ गते एसियाली पावर हाउस अष्ट्रेलिया र समूह चरणको अन्तिम खेलमा कार्तिक २७ गते जोर्डनसँग खेल्ने तय थियो । तर, एशियाली फुटबल महासंघ ए एफ सीले कोरोना महामारी कायमै रहेका कारण अर्को सूचना नआएसम्मका लागि फिफा विश्वकप २०२२ र एशियन कप २०२३ छनोटका सबै खेल स्थगित गर्ने निर्णय गरेको हो । एएफसीका अनुसार विश्वकप र एशियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरिएको र अवस्था सामान्य भएपछि नयाँ मिति घोषणा गरिने छ । असोज र कात्तिकमा हुने छनोट खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणमा राख्नका लागि खेलाडीको कोरोना परीक्षण गरिरहेको थियो । नेपाल रहेको समूह बीमा अष्ट्रेलिया ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०–१० अंक छ । ३ अंकका साथ नेपाल चौथो र अंकविहीन चाइनिज ताइपेइ पुछारमा छ ।

यसैबीच, भदौ एक गतेदेखी तयारी थाल्ने बताएको अखिल नेपाल फुटबल संघ एन्फाले सुरु नहुँदै प्रशिक्षण स्थगित गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम उच्च हुँदै गएको र विश्वकप र एसिया कप छनोट अन्तर्गतका खेलहरु अनिश्चित समयका लागि स्थगित गरेपछि एन्फाले पनि पूर्वनिर्धारित प्रशिक्षण हाललाई स्थगित गरेको जानकारी दिएको हो । अब एएफसीले छनोट अन्तर्गत नेपालको खेल तालिका तय गरेपछि मात्र प्रशिक्षण सुरु गर्ने एन्फाको योजना छ । बुधबार एक विज्ञप्ती जारी गर्दै एन्फाले कोरोना संक्रमणको जोखिमलाई मध्ये नजर गर्दै भदौ ३ गतेसम्मका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको छ । यसअघि, सरकारको निर्णयअनुसार एन्फाले भदौ १ गतेदेखि राष्ट्रिय टोलीको प्रशिक्षण थाल्ने अनुमती पाएको थियो र सोहीअनुसार उपत्यका बाहिर भएका खेलाडीहरुलाई काठमाडौं बोलाउने र क्वारेन्टिन राख्नेदेखि खेलाडी तथा अफिसियलहरुको पीसीआर परिक्षणसम्मका काम भएका थिए ।

यसैबीच सोमबार र मंगलबार गरिएको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

Related posts

नेपालमा एसिया कप व्हिल चियर क्रिकेटको आयोजना

Aarsha Khabar

चितवनमा पहिलोपटक रग्बीको प्रशिक्षण

Aarsha Khabar

जिम्न्याष्टिक संघ एकिकरण

Aarsha Khabar