आर्ष खबर

साहित्य

अलविदा राष्ट्रकवि

काठमाडाैं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। राष्ट्रकवि घिमिरेको साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौं लैनचौरस्थित निवासमै निधन भएको हो। वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गर्नुभएकाे थियाे ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुनुहुन्थ्याे । उहाँले बाल्यकालदेखि नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा निरन्तर कलम चलाउँदै आउनु भएकाे थियाे । उहाँले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाउनु भएकाे थियाे । उहाँले नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्‍नर-किन्‍नरी (वि.सं. २०३३) जस्ता कविता सङ्ग्रह सङ्कलित छन्। १४ वर्षको उमेरमा ज्ञान पुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जना थाल्नुभएकाे थियाे । घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमा सह-सम्पादक हुनुभएकाे थियाे । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा काम गर्नुभएकाे थियाे । २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य रहनु भएकाे थियाे । उहाँ वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा जोडिएका थिए। चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ (नारायण गोपाल)ले गाएका छन्। ‘राष्ट्र निर्माता’ जस्तो खण्डकाव्यको सिर्जना गरेर घिमिरेले साहित्य क्षेत्रमा आफूलाई सु-प्रबल राष्ट्रवादी कविका रुपमा स्थापित हुनुभएकाे थियाे । उहाँ वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहनु भयाे । वि.सं. २००४ सालमा धर्मपत्नी गौरीको निधन र त्यसबाट उत्पन्न शोक पीडा माधव घिमिरेको जीवनको सबैभन्दा ठूलो पीडा थियो।

त्यसै पीडाकाे सेरोफेरोमा रचित गौरी (२०१५) खण्डकाव्य उहाँकाे एक विशिष्ट कृति थियो। उहाँकाे पहिलो खण्डकाव्य रामविलास (रचना १९९५) जीवन सङ्गीत (रचना – १९९८), सुदामा चरित्र (रचना–१९९३) हुन् भने कान्तिमती (रचना–२०१६) अझै पनि अप्रकाशित अवस्थामा छ र गौतम २०६१ः१४४) । उहाँका सुप्रसिद्ध बनेका प्रकाशित खण्डकाव्यहरू गौरी (२०१५), पापिनी आमा (२०१७), राजेश्वरी (२०१७), राष्ट्रनिर्माता (२०२३) धर्तीमाता (२०३०), राहुल यशोधरा (२०३५–बाल लघुकाव्य) हुन् । गीतकविता संग्रह नवमञ्जरी (१९९४), किन्नर किन्नरी (२०३३)– र चैत वैसाख (२०६०) हुन् ।

त्यस्तै गीतिनाटकतर्फ मालतीमङ्गले (२०३५), शकुन्तला (२०३३), हिमालवारि हिमालपारि (२०५४) र बालकुमारी हुन्। नेपाली बालसाहित्यतर्फ उहाँकाे सनपङ्खी चरी, घामपानी बाललहरी, गौंथली र गजधम्मे आदि प्रकाशित छन् भने आफ्नै गीत आफ्नै बाँसुरी र चारु चर्चा निबन्धनिकट गद्यकृति हुन् ।

Related posts

मैले कसरी लेख्न सिकें (भाग–७)

Aarsha Khabar

मैले कसरी लेख्न सिकें (भाग–११)

Aarsha Khabar

च्याउको सुप

Aarsha Khabar