- प्रकाश अधिकारी
कीर्तिपुर । सडक नै विकासको मूल आधार हो । यसले शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, कृषि र समाजका यावत पक्षको उन्नतिको ढोका खोल्दछ । त्यसैले सडक, बाटाघाटा र पुलपुलेसोलाई हाम्रो समाज र देशको विकासको सुरुवात मानिन्छ । यद्यपि यो भनाइ र गराइमा फरक छ । एकथरी विकास भन्छन् तर गर्दैनन् । समाजमा अर्कोथरि हुन्छन् जो साँच्चै विकास भन्छन् र आफै जागरुक भएर, स्रोतसाधन जुटाएर र सहयोगी हात फैलाएर काम गरेर पनि देखाउँछन् । यस्तो विकासको काम सानातिना कामको सुरुवातबाट पनि हुन सक्छ ।
विकासको लागि चिया पसल, चोक र जथाभावी गफको गुड्डी हाँक्नेहरुले सिन्को भाँच्न सक्दैनन् । खाली सरकार र अरुको मुख ताक्नेहरुले पनि कुनै काम गर्न सक्दैनन । यस्तो प्रवृत्तिलाई चुनौति दिँदै यस क्षेत्रका मानिसहरु आफै जागरुक, सक्रिय र स्रोत साधन जुटाएर आफ्नो ठाउँ आफै बनाऔँ भनेर सकारात्मक सोचसहित अघि बढेर विकासको नमूना देखाएका छन् । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाका स्थानीय आफै जागरुक भएर विकासको बाटोमा अग्रसर देखिएको एउटा गतिलो उदाहरण हो ।
चन्द्रागिरि र कीर्तिपुरको सीमानामा पर्ने टुसाल आयटारदेखि कुमारीबस्ती हुँदै अधिकारी टोलसम्मको १६ फिट सडकको निर्माणमा जुटेका स्थानीय समुदाय सहरी विकास तथा भवन निर्माण विभागको परियोजन र कीर्तिपुर नगरपालिकाको सिफारिशमा बागमती प्रदेश सरकारबाट प्राप्त सहयोगबाट करिब ५ सय मिटर दाँया बाँया पर्खाल बनाउन सफल भएका छन् । साथै करिब ११३ मिटर ढलान गरी बाँकी भागमा ग्राभेलको काम सकिएको छ । सो काम स्थानीय टोलसुधार समितिका पूर्वअध्यक्ष अच्यूत अधिकारीको अगुवाईमा भएको हो । स्थानीय वासिन्दाको अहोरात्र श्रमदान, रेखदेख र स्रोतसाधन जुटाएर पानीको पाइप र ग्राभेल बिच्छ्याउने काम सम्पन्न भएको छ ।
त्यसलगत्तै स्थानीयको सक्रिताबाट प्रभावित भएर पूर्वमन्त्री कल्पना धमला र कीर्तिपुर न.पा. ४ का वडाअध्यक्ष राजेन्द्र बानियाँको पहलमा संघीय सांसद राजन केसीले सांसद विकास कोषबाट दुई करोड २५ लाख रुपैयाँ यस क्षेत्रलाई छुट्टाइ दिनुभएको थियो । उक्त रकमबाट नाली बनाई ग्राभेल सडक पक्की बनाइयो । साथै तल्लो आयाटारबाट माथिल्लो आयाटारसम्म करिव १.५ किमि २५ फिट चौडाइ सडक पक्की बनाउनको लागि बजेट विनीयोजन गरी निर्माण कामको सुरुवात गरिएको छ ।
उक्त सडक निर्माणको लागि वडाध्यक्ष राजेन्द्र बानियाँ, चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र मर्हजन, स्थानीय समाजसेवी श्याम अधिकारी, कुमारी बस्तिटोल सुधार समितिका अध्यक्ष सानुभाई विष्ट, पूर्व गाविस अध्यक्ष ज्ञानबहादुर गोपालीका साथै सडकसँग सरोकारवाला अन्य स्थानीयहरुको रोहवरमा बाटोको सीमाना छुट्याइ निर्माण कार्य सुरु गरिएको थियो । वडाध्यक्ष बानियाँ भन्नुहुन्छ, ‘बाटो बन्नु भनेको आफ्नै ठाउँको विकास हुनु हो । ‘त्यसैले विकासको विरोध गर्नुभन्दा विकासमा जुटेर अगाडि बढ्न सक्नुपर्छ ।’ बानियाँले स्थानीयको सक्रिताले गर्दा नै बाटोको सीमांकन गर्न सहज भएको र बाटोको लागि अहिले केही जग्गा गएतापनि भविष्यमा त्यसको विशेष लाभ आफैलाई हुने धारणा राख्नु भयो ।
त्यस्तै चन्द्रागिरि ९ का वडाध्यक्ष महर्जनले स्थानीयको सक्रियताले कुनै पनि काम सजिलै गर्न सकिने र आगामी दिनमा के–कस्तो सहयोगको आवश्यकता पर्छ त्यसका लागि आँफू सधै तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । कुमारी बस्ती टोल सुधार समितिका सचिव दिलबहादुर अधिकारीले आफ्नो ठाउँ आफै बनाउन कम्मर कसे कुनै पनि काम असम्भव हुँदैन भन्नुभयो । ‘लक डाउनको समयमा पनि भौतिक दूरी कायम गरी काम गर्दै आइरहेका छौँ, बाटोका लागि जग्गा उपलब्ध गराउनु हुनेहरुलाई विशेष धन्यवाद छ, आगामी दिनमा सामाजिक कार्यमा तपाईहरुको सहभागिताको लागि अनुरोध छ”, सचिव अधिकारीले भन्नुभयो ।
स्थानीयको सहभागितामा भएको सक्रियताको प्रशंसा गर्दै स्थानीय विनोद देवकोटाले समाजमा काम गर्दा केही अप्ठयारो भएपनि विकासको महत्व बुझेपछि त्यो सहज पनि हुने धारणा व्यक्त गर्नुभयो । ‘बाटोको महत्व बुझेपछि यहाँका स्थानीय बीच राम्रो एकता भएको र त्यही एकताले नै काम भएको छ’ देवकोटाले भन्नुभयो ।
त्यस्तै स्थानीय समाजसेवी श्याम अधिकारीले ‘बाटो भनेकै विकासको मुल आधार भएकोले बाटो बनाउनकै लागि आफुले पहिले पनि व्यक्तिगत खर्च गर्दै आएको र अबको दिनमा विकासको लागि सहयोग गर्न म पछि नपर्ने बताउनु भयो ।’