आर्ष खबर

खेलकुद

क्यानले तीन श्रेणीमा खेलाडी वर्गिकरण

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको मंगलबार चितवनमा बसेको बोर्ड बैठकले महिला र पुरुष खेलाडीको वर्गिकरण गरेको छ ।

महिलातर्फ १९ र पुरुषतर्फ १८ खेलाडी समेट्दै आफैले पारिश्रमीक उपलब्ध गराउने उद्देश्यका साथ क्यानले तीन श्रेणीमा खेलाडी वर्गिकरण गरेको हो । तर क्यानको यो निर्णयले खेलाडीको प्रदर्शनको कदर गर्न नसकेको भन्दै आलोचना सुरु भएको छ ।
पछिल्लो समय खेलाडीले गरेका प्रदर्शनका आधारमा कुनै खेलाडीको स्तर निर्धारण गरिन्छ । स्तर अनुसार खेलाडीले सेवा सुविधा समेत पाउने हुँदा यसले खेलाडीहरुलाई सधै उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्दछ । यसै क्रममा मंगलबार नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले यस वर्षका लागि खेलाडीको ग्रेडिङ गरेको थियो । महिलातर्फ १९ र पुरुषतर्फ १८ खेलाडी समेट्दै खेलाडीहरुलाई ए, बी र सी गरी तीन श्रेणीमा विभाजन गरियो । श्रेणीगत रुपमै ती खेलाडीहरुलाई क्यानले मासिक पारिश्रमिक दिनेछ । कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा केन्द्रीय सदस्य दुर्गाराज पाठक र अमितविर पान्डेसहितको पारिश्रमिक र ग्रेड निर्धारण समितिले ती खेलाडीको वर्गिकरण गरेका हुन् । जसमा पुरुषतर्फ ए श्रेणीमा ८ जना, बी श्रेणीमा ४ जना र सी श्रेणीमा ६ जना खेलाडी समावेश छन् । तर पछिल्लो पटक खेलाडीको प्रदर्शनका आधारमा हुनुपर्ने वर्गिकर त्यस्तो हुन नसकेको भन्दै आलोचना सुरु भएको छ । ए श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, वसन्त रेग्मी, शरद भेषवाकर, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी र दीपेन्द्रसिंह ऐरी छन् । बी श्रेणीमा सोमपाल कामी, पवन सरार्फ, आरिफ शेख र सुशन भारी छन् भने सी मा सुवास खकुरेल, कमलसिंह ऐरी, रोहितकुमार पौडेल, राशिद खान र कुशल मल्ल छन् । जसमा गतवर्ष ए श्रेणीमा रहेका सोमपाल यो पटक बी मा झर्दा बसन्त बी बाट ए मा उक्लिएका छन् । तर गतवर्ष कुनै अन्तर्राष्ट्रिय खेल नखेलेका ब्याट्सम्यान सुवास खकुरेल र तीब्र गतिका बलर कमलसिंह ऐरी सम्झौतामा कायम रहँदा ललित राजवंशी टोलीका नियमित सदस्य थिए । गत वर्षनै नेपालले खेलेको १७ अन्तर्राष्टिय ट्वेन्टी ट्वेन्टीमा १६ विकेट तथा यूएईसँगको त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टीमा जित्दाका सर्वाधिक विकेट लिने खेलाडी बनेका अभिनाश बोहोरा सी श्रेणीमा झरेका छन् ।

पुरुषसँगै क्यानले महिला खेलाडीको पनि वर्गिकरण गरेको छ । पहिलो पटक महिला खेलाडीको वर्गिकरण गर्दै परिश्रमिक दिन सुरुवात गर्नु क्यानको सकारात्मक पक्ष हो । तर राष्ट्रिय टोलीमै नपरेका खेलाडी सम्झौता पाउँदा पछिल्लो समय लगातार राष्ट्रिय टोलीमा नियमित रहेका खेलाडीले सम्झौतामा छैनन् । अहिलेसम्म राष्ट्रिय टोलीमा नरेहेकी कविता जोशी बी श्रेणीमा अटाउँदा दुई वर्षयता टोलीमा रहेकी ममता चौधरीले क्यानको नजरमा पर्न सकिनन् । त्यस्तै, गतवर्ष नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी सरस्वती चौधरी र सुमन खतिवडालाई पनि क्यानले वर्गिकरणमा सामेल गराएन । तर लामो समयदेखी राष्ट्रिय टोलीमा समेत नरहेकी अनुराधा चौधरी र दुई वर्षयता राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा नै नपरेकी शोभा आले भने यो सुचीमा अटाईन् । १९ जना खेलाडी वर्गिकरणमा पर्दा हाल राष्ट्रिय टोलीमा रहेका तीन जना खेलाडी समावेश नहुनु आफैमा विवादास्पद छ ।

पुरुष क्रिकेट खेलाडी

‘ए श्रेणी ५० हजार मासिक : ज्ञानेन्द्र मल्ल, पारस खड्का, बसन्त रेग्मी, शरद भेसावकर, बिनोद भण्डारी, करन केसी, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी ।

‘बि श्रेणी ४० हजार मासिक : सोमपाल कामि, सुशन भारि, आरिफ शेख, पवन सर्राफ ।

सी श्रेणी ३० हजार मासिक : सुबास खकुरेल, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, राशिद खान र कमल सिंह ऐरी ।

महिला क्रिकेट खेलाडी

ए श्रेणी मासिक १५ हजार : कप्तान रुबिना क्षेत्री सहित नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी ।

बि श्रेणी मासिक १२ हजार : सरिता मगर, ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, बिन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ ।

सी श्रेणी मासिक १० हजार : कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अन्जली चन्द र शोभा आले रहेका छन् ।

Related posts

एनसीएल विमन्स टि २० लिगका मार्की खेलाडी सार्वजनिक, विजेताले १० लाख रुपैयाँ पाउने

Aarsha Khabar

बार्सिलोना र म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लीगको क्वाटरफाइनलमा भिंड्ने

Aarsha Khabar

आठौं राष्ट्रिय खेलकुद अर्को महिना

Aarsha Khabar