काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी सचिवालय समस्या सिर्जना गर्ने थलो भएको बताउनु भएको छ ।
पार्टी भित्रको आन्तरिक समस्या समाधान गर्नुभन्दा समस्या सिर्जना गर्ने थलोको रुपमा पाटीको सचिवालय भएको स्पष्ट पार्नुभयो । पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशावट गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो भूमिका खेल्न नसकेको उल्लेख गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘सचिवालयले आफ्नो भूमिका बदल्नुपर्ने आवश्यकता मैले देख्छु। यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशाबोध गराउनका लागि सक्षम, प्रभावकारी, नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वभाविक रुपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ।’
महासचिव पौडेलले आफ्नो अभिभारा सही ढंगले पूरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने बताउनु भयो ।